महिला क्रिकेटमा नेपालको फराकिलो हार
क्रीकेटिङ्ग नेपाल     २०७६-०८-१८

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले बंगलादेशसँग १० विकेटको फराकिलो हारको सामना गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा ५१ रनको सानो लक्ष्य पक्ष्याएको बंगलादेशले बिना विकेटको क्षतीमा सात दशमलब चार ओभरमा जीत आत्मसाथ गर्यो ।

बंगलादेशको जीतमा ओपनरद्वय मुर्शिदा खातुन र आयषा रहमानले क्रमसः २३ बलमा २४ रन तथा २२ बलमा २६ रन प्रहार गरे ।

यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको नेपालले १९ दशमलब दुई ओभरमा आफ्ना सबै विकेटका गुमाएर मात्र ५० रन बनाउन सक्यो ।

नेपालको तर्फ कप्तान रुबिना क्षत्रीले सर्वाधिक १३ रन, सोनु खड्काले १२ तथा इन्दु बर्माले १० रनको पारी खेले भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका पाँचजना ब्याट्सवोमनले रनको खाता समेत खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा राबेया खानले सर्वाधिक चार विकेट लिईन् भने जहानारा आलमले पनि दुई विकेट हात पारिन् । खानले चार ओभरमा दुई मेडन सहित आठ तथा आलमले तीन ओभरमा एक मेडन सहित दुई रन खर्चिन् ।

आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटको फराकिलो जीत हात पारेको नेपालले समुह चरणको आफ्नो अन्तिम लिग खेलमा शुक्रबार श्रीलंकाको सामना गर्नेछ ।