डेब्यु खेलमा नै अन्जलीको विश्व किर्तिमान
क्रीकेटिङ्ग नेपाल     २०७६-०८-१६

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी मध्यम गतिकी बलर अन्जली चन्दले महिला ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय क्रिकेटमा विश्व किर्तिमान कायम गरेकी छिन् । आजको खेलमा उनले नेपालको लागि ट्वान्टी ट्वान्टीमा डेब्यु गरेकी हुन् ।

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा माल्दिभ्स बिरुद्धको खेलका क्रममा अन्जलीले छ विकेट निकाल्दै उनले किर्तिमान कायम गरेकी हुन् । दुई दशमलब एक ओभर बलिंग गरेकी उनले कुनै पनि रन खर्च नगरी छ विकेट हात पारेकी हुन् ।

छ विकेट लिने क्रममा अन्जलीले ह्याट्रिक पनि पुरा गरेकी थिइन् । नवौं ओभरको पाँचौ र छैठौं बलमा तथा ११औं ओभरको पहिलो बलमा उनले ह्याट्रिक पुरा गरेकी हुन् ।

यस अघि यो किर्तिमान मलेसियाकी बलर मस एल्य्साको नाममा रहेको थियो । यसै बर्षको शुरुवातमा थाईल्याण्डमा सम्पन्न भएको टि-ट्वान्टी ब्लास्टका क्रममा चीनसँगको खेलमा मसले चार ओभर बलिंग गर्दै एक मेडन सहित तीन रन खर्चिएर छ विकेट हात पारेकी थिइन् ।

अन्जली सहित कुल छ जना बलरहरुले पहिले ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा छ विकेट हात परेका छन् । नेपालको तर्फबाट अन्जली बाहेक नेरी थापाले पनि छ विकेटको किर्तिमान आफ्नो नाममा लेखाई सकेकी छिन् । नेपाली महिला टोलीकी पुर्व कप्तान नेरी थापाले थाईल्याण्डमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा हंगकंग बिरुद्धको खेलमा चार ओभर बलिंग गर्दै आठ रन खर्चिएर छ विकेट लिएकी थिइन् ।

अन्जलीको घातक बलिंगमा नेपालले टस जीतेर पहिले ब्याटिंग गरेको माल्दिभ्सलाई १० दशमलब एक ओभरमा १६ रनमा अलआउट पार्यो । माल्दिभ्सको तर्फबाट ओपनर हम्ज़ा नियाज़ले सर्वाधिक नौं रन तथा कप्तान हफ्सा अब्दुल्लाहले चार रनको पारी खेलिन् भने बाँकी नौंजना ब्याट्सवोमनले रनको खाता पनि खोल्न सकेन् ।

नेपालको तर्फबाट अन्जली बाहेक करुणा भण्डारीले दुई विकेट हात परिन् ।

जवाफी ब्याटिंग गरेको नेपालले काजल श्रेष्ठको अविजित १३ रनको मद्धतमा पाँच बलमा जीत दर्ता गरायो ।