भारतको बलियो टोलीसँगको हारमा नेपालको सराहनीय प्रदर्शन
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-२९

नेपाली टोलीले भारतमा जारी मेन्स अण्डर १९ च्यालेन्जर ट्रफि अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा बलियो भारतीय टोलीबिरुद्ध हारमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ ।

हैदाराबादमा भारत ए बिरुद्ध शुक्रबार भएको खेलमा टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपालले कप्तान रित गौतमको अद्र्धशतकसँगै तल्लो क्रमको योगदानमा ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै २ सय १० रन बनायो ।

आकाश चन्दले चार विकेट लिदै घरेलु टोलीलाई दवाबमा राखेपनि भारत ए ले ४६ दशमलव तीन ओभरमा ८ विकेट गुमाउदै २ सय ११ रन बनायो । आकाशले शुरुवाती ओभरमा राम्रो बलिङ्ग गरेपछि भारतले १५ रनमै दुई विकेट गुमाएको थियो ।

सागर दाहिया र हर्श जम्वालले अद्र्धशतकीय साझेदारी गरेपछि भारत सम्हालिएको थियो । दुवै ब्याट्स्म्यान एक रनको अन्तरमा पेभलियन फर्केपछि नेपाल खेलमा फर्किएको थियो । दाहियाले २८ र जम्वालले २९ रन बनाएका थिए ।

यद्दपी कृष्ण शेट्टी र दिभ्यान्स जोशीले पाचौं विकेटका लागि ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जितबाट पर धकेलेका थिए । जोशीले छिटो छरितो रन बटुल्ने क्रममा ३७ बलमा चार छक्का र चार चौका प्रहार गर्दै ५४ रन बनाएका थिए ।

तर नेपाललाई जितबाट टाढा राख्ने काम भने शेट्टीले गरेका थिए । उनले धैर्यतापुर्वक ब्याटिङ्ग गर्दै ७५ बलमा ३९ रन बनाएपछि भारत जित नजिक पुगेको थियो । उनी आउट हुँदा भारतलाई ४० बलमा मात्र २४ रनको आवश्यकता रहेको थियो ।

निर्मल कुमारले अविजित रहदै २० रन बनाएपछि नेपालको पराजय निश्चित भएको थियो । आकाशले ८ ओभरमा ४१ रन खर्चदै चार विकेट लिए । स्पिनर सागर ढकालले कसिलो बलिङ्ग गर्दै १० ओभरमा ३१ रन खर्चि दुई विकेट लिएका थिए ।

यसअघि नेपाली इनिङ्गसको पहिलो हाफ रितको नाममा रहेको थियो । आकर्षक इनिङ्गस खेलेका रितले ३२ औं ओभरसम्म नेपालको ब्याटिङ्गलाई सम्हालेका थिए । उनले हरि बहादुर चौहान (२०) सँग ५३ रनको पार्टनरसिप गरे । नेपालको योगफल १ सय ३१ रहँदा सातौ ब्याट्स्म्यानको रुपमा आउट भएका रितले एक्लै ८४ रन बनाएका थिए ।

९३ बलको सामना गरेका रितले १२ चौका र एक छक्का प्रहार गरेका थिए । रितको विकेट पतनपछि शेर मल्ल र आकाशले ४७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफल तर्फ धकेलेका थिए । शेरले ४७ बलमा तीन चौकाको मद्दतमा ३३ रन बनाए । यस्तै आकाशले १८ रनको योगदान दिए ।

भारतका लागि जोशीले तीन विकेट लिए भने अथर्व अन्कोलेकरले दुई विकेट चट्काएका थिए । नेपालले अब तेश्रो स्थानका लागि आइतबार हुने खेलमा भारत सीको सामना गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत सिसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।