भारतसँगको बिशाल पराजयमा बिशालको संयमित अद्र्धशतक
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-२७

नेपाली युवा टोली भारतमा जारी एक दिवसिय अण्डर १९ च्यालेञ्जर ट्रफीमा लगातार दोश्रो खेलमा पराजित भएको छ ।

यसअघि भारतको सी टिमसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको नेपाल हैदारबादको राजिव गान्धि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारत ए सँग १ सय ७ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

टस जितेर पहिलो फिल्डिङ्ग रोजेको नेपालले बलिङ्गमा औसत प्रदर्शन गर्दै भारतीय टोलीलाई ४८ दशमलव दुई ओभरमा २ सय ४७ रनमा रोकेको थियो । जवाफमा नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ४० रनमात्र बनाउन सक्यो ।

नेपालको लागि खेलको सबैभन्दा सुखद पक्ष बिशाल बिक्रम केसीको ब्याटिङ्ग रह्यो । ४९ रनमै ६ विकेटको गुमाएको नेपाललाई बिशालले सातौं विकेटका लागि शेर मल्लसँग ५६ रनको साझेदारी गर्दै एक सय रन नघाएका थिए ।

एक सय २६ बलको सामना गरेका बिशालले ११ चौकाको मद्दतमा ७१ रन बनाए । नेपाली टोलीको ब्याटिङ्गमा भविष्यका लागि आशा गरिएका बिशालको अण्डर १९ मा यो अहिलेसम्मकै उच्च योगफल हो । शेरले २१ रन बनाए भने आकाश चन्द १९ रनमा नटआउट रहे ।

भारतका लागि नितिश कुरमा रेडी र समिर हसन रिज्भीले दुई–दुई विकेट हात पारे । यसअघि पहिलो ब्याटिङ्ग गरेको भारतका लागि मध्यक्रमका ब्याट्स्म्यान धुर्व चन्द जुरेलले ६५ बलमा ७४ रन जोडेका थिए । उनले ६ चौका र तीन छक्का प्रहार गरे ।

यस्तै साइ भारद्वाज सुदर्शनले ३४, यशस्वी जैसवालले ३३ र रेडीले ३० रनको योगदान दिएका थिए । नेपालका लागि शेरले सर्वाधिक तीन विकेट लिए भने आकाशले दुई विकेट हात पारे । नेपालले तेश्रो लिग खेलमा शुक्रबार भारत बी को सामना गर्नेछ ।