बिराटनगर माथि सहज जीत निकाल्दै काठमाडौँ फाइनलमा
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०५

कप्तान रुबिना क्षेत्रीको अलराउण्ड प्रदर्शनमा बिराटनगर टाइटांसलाई नौं विकेटको फराकिलो अन्तरले पराजित गर्दै क्याट क्विन्स काठमाडौँ टियु क्रिकेट मैदानमा जारी वोमेन्स क्रिकेट लिग (डब्लुसिएल) को फाइनलमा प्रवेस गरेको छ ।

अब बिहिबार हुने फाइनल खेलमा काठमाडौँले चितवन राइनोजको सामना गर्नेछ ।

जीतका लागि ६९ रनको सामान्य लक्ष्य लिएर ब्याटिंग गर्न आएको काठमाडौँले नौं दशमलब पाँच ओभरमा एक विकेटको नोक्सानीमा जीत आत्मसाथ गर्यो ।

ओपनर रोमा थापालाई पहिलो बलमा नै शुन्य रनमा गुमाएको काठमाडौँको जीतमा अविजित रहेका कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमले क्रमसः ३० र २७ रन जोडे ।

यस अघि २४ रनको अन्तरालमा १० विकेट गुमाउँदा बिराटनगर टाइटांसले क्याट क्विन्स काठमाडौँलाई ६९ रनको सामान्य लक्ष्य दिएको थियो ।

खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको बिराटनगरले १७ दशमलब तीन ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ६८ रन बनाउन सक्यो ।

बिराटनगरको पारी ध्वस्त पार्ने क्रममा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक चार विकेट लिइन् भने इश्वरी बिष्ट, संगिता राई तथा लक्ष्मी साउदले समान एक-एक विकेट हात पारे ।

ओपनरद्वय सोनु खड्का र ज्योती पाण्डे पहिलो विकेटका लागि आक्रमक शुरुवात गर्दै छ दशमलब पाँच ओभरमा ४४ जोडे । तर त्यस पछि लगातार रुपमा विकेट गुमाउँदा बिराटनगर सस्तैमा समेटियो ।

बिराटनगरको तर्फबाट खड्काले २५ बलमा छ चौकाको मद्धतमा ३४ रन तथा पाण्डेले २० बलमा दुई चौकाको मद्धतमा १२ रन जोडिन् । त्यस पछि आएका अन्य ब्याट्सवोमनहरुमा आरती बिडारी ११, लक्ष्मी चौधरी र कप्तान सरिता मगरले समान दुई-दुई, अश्मिना कर्माचार्य एक तथा डली भट्ट र यसोधा बिष्ट शुन्य शुन्य रनमा पेभेलियन फर्किए ।