कविता र बिन्दुको किर्तिमानी शतकीय साझेदारीमा पल्टनले फाल्कन्सलाई हरायो
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०४

कविता कुवर र बिन्दु रावलले घरेलु महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा पहिलो शतकीय साझेदारी गरेपछि पोखर पल्टनले उमेन्स च्याम्पियन्स लिगको आफ्नो अन्तिम लिग खेलमा ललितपुर फाल्कन्सलाई ६ विकेटले पराजित गरेको छ ।

त्रिवि मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको फाल्कन्सले ममता चौधरीको अर्धशतकको मद्दतमा २० ओभरमा ७ विकेट गुमाउदै १ सय २२ रन बनायो । पल्टनले पहिलो तीन विकेट मात्र पाँच रनको क्षतिमा गुमाएको थियो तर कविता र बिन्दुले उत्कृष्ट ब्याटिङ्ग गरेपछि उसले १७ दशमलव दुई ओभरमा एक सय २३ रन बनायो ।

उनीहरुले चौथो विकेटको लागि एक सय ६ रनको साझेदारी गरेका थिए । यसअघि प्रतियोगिताको ठूलो साझेदारी बिराटनगर टाइटन्सका ज्योति पाण्डे र सोनु खड्काको नाममा रहेको थियो । उनीहरुले फाल्कन्सबिरुद्ध नै उक्त साझेदारी गरेका थिए ।

कविता ४२ बलमा ६१ रनमा नटआउट रहिन् । उनले १० चौका प्रहार गरिन् । बिन्दुले ४४ बलमा चार चौका हिर्काउदै ४० रन बनाइन् । अल राउण्ड प्रदर्शन गरेकी ममता र नेरी थापाले फाल्कन्सका लागि दुई–दुई विकेट लिएका थिए ।

यसअघि शुरुवातको चार विकेट मात्र ३९ रनमै गुमाएको फाल्कन्सको इनिङ्गसलाई ममता र कविता जोशीले उकासेका थिए । उनीहरु दुई जनाले पाचौं विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

कविताले २३ बलमा ६ चौका सहित ३१ रन बनाइन् । ४९ बलमा अर्धशतक पुरा गरेकी ममताले ५१ बलमा ५२ रन बनाइन् । उनले ७ चौका प्रहार गरिन् । यस्तै सम्झना खड्काले १० रनको योगदान दिएकी थिइन् ।

पल्टनका लागि कप्तान सीता राना मगरले दुई विकेट लिइन् । यस्तै नविना खड्का, अञ्जली चन्द र राजमति एैरिले पनि एक–एक विकेट लिएका थिए ।

प्रतियोगितामा दुवै टोली यसअघि नै बाहिरिसकेका थिए । चितवन राइनोजले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । बिराटनगर टाइटन्स र क्याट क्विन्स काठमाडौं भने एलिमिनेटरमा भिड्नेछन् ।