ममताको अर्धशतकमा फाल्कन्सले पोखरा पल्टनलाई दियो एक सय २३ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०४

ममता चौधरीले अर्धशतक प्रहार गरेपछि ललितपुर फाल्कन्सले उमेन्स च्याम्पियन्स लिगको अन्तिम लिग खेलमा पोखरा पल्टनलाई १ सय २३ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको फाल्कन्सले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय २२ रन बनायो । शुरुवातको चार विकेट मात्र ३९ रनमै गुमाएको फाल्कन्सको इनिङ्गसलाई ममता र कविता जोशीले उकासेका थिए । उनीहरु दुई जनाले पाचौं विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

कविताले २३ बलमा ६ चौका सहित ३१ रन बनाइन् । ४९ बलमा अर्धशतक पुरा गरेकी ममताले ५१ बलमा ५२ रन बनाइन् । उनले ७ चौका प्रहार गरिन् । यस्तै सम्झना खड्काले १० रनको योगदान दिएकी थिइन् ।

पल्टनका लागि कप्तान सीता राना मगरले दुई विकेट लिइन् । यस्तै नविना खड्का, अञ्जली चन्द र राजमति एैरिले पनि एक–एक विकेट लिएका थिए ।

प्रतियोगितामा दुवै टोली यसअघि नै बाहिरिसकेका छन् । चितवन राइनोजले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । बिराटनगर टाइटन्स र क्याट क्विन्स काठमाडौं भने एलिमिनेटरमा भिड्नेछन् ।