पारसको राजीनामाको बिषयमा अहिले नै निर्णयमा पुग्न मिल्दैनः क्यान
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०३

नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीको कप्तान पारस खड्काले आफ्नो पदबाट दिएको राजीनामाको बिषयमा औपचारिक रुपमा जानकारी आइ नसकेको हुनाले अहिले यस बिषयमा कुनै निर्णय लिन नसकिने बताएको छ ।

पारसले पाँच दिन अघि क्यान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बनबाट मुक्त भएकोमा बधाई दिदै अब राष्ट्रिय टोली पनि नयाँ रुप र नयाँ बिचारले अघि बढ्नु पर्ने आवश्यकता रहेको भन्दै कप्तानीबाट राजीनामा दिएका थिए । उनले यसका लागि सामाजिक सञ्जालसँगै राष्ट्रिय टोलीको हाल मिडिया हेरिरहेका सुरज शाक्यको इमेल ठेगाना मार्फत जानकारी गराएका थिए ।

राजीनामा दिएकै दिन पारसले उमेन्स च्याम्पियन्स लिगको पुर्व सन्ध्यामा भएको पत्रकार सम्मेलन मार्फत मिडियालाई लामै अन्तर्वार्ता दिएका थिए । यद्दपी यस बिषयमा क्यानमा कुनै आधिकारिक जानकारी नभएकोले अहिले नै कुनै निर्णय गर्न नसकिने निचोडमा क्यानको आइतबार बसेको कार्य समिति बैठक पुगेको सचिव अशोक नाथ प्याकु¥यालले जानकारी दिएका छन् ।

"पारसले राजीनामा दिनु भएको बिषयमा हामीले पनि सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमबाट नै जानकारी पाएका हौं । यसैलाई आधार मानेर हामीले कुनै पनि औपचारिक निर्णय लिन मिल्दैन । आज बसेको बैठकमा हामीले उहाको राजीनामाको बिषयले ध्यानाकर्षण भएको र यस बिषयमा तथ्य बुझ्ने निर्णयमा पुगेर आवश्यक कदम चाल्ने निर्णयमा पुगेको छौं," प्याकु¥यालले क्रिकेटिङ्गनेपाललाई बताए ।

यता पारस भने यो बिषय कुनै ठूलो मुद्दा नभएको बताउछन् । "पछिल्लो तीन बर्ष हामी जुन हिसाबले आधिकारिक रुपले चलिरहेको छौं त्यही विधि मैले अपनाएको हु । राष्ट्रिय टोलीका लागि मिडिया हेर्नको लागि मान्छे तोकिएको छ र त्यही अनुरुप इमेल पठाइएको हो । क्यान भर्खरै निलम्बनबाट मुक्त भएकोले अब कसरी सञ्चालन हुने हो (पत्राचार गर्नका लागि) यस बिषयमा हामीलाई जानकारी छैन," पारस भन्छन् ।

"निलम्बनबाट मुक्त भएपछि र मैले राजीनमा दिएपछि मलाई क्यानबाट कसैले सम्पर्क गरेको छैन । न राष्ट्रिय टोलीका प्रशिक्षक (उमेश पट्वाल) लाई नै । तर यो कुनै ठूलो मुद्दा पनि होइन । म क्यानलाई नै आधिकारिक रुपमा पत्राचार गर्नको लागि तयार छु," उनले थपे ।