क्याट क्विन्स प्लेअफमा, रुबिनाको दोश्रो अर्धशतक
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०३

ललितपुर फाल्कन्समाथि ७ विकेटको सहज जित दर्ता गर्दै क्याट क्विन्स काठमाडौं उमेन्स च्याम्पियन्स लिगको क्वालिफायरमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको फाल्कन्सले २० ओभरमा ५ विकेटको क्षतिमा मात्र एक सय ५ रन बनाउन सक्यो । जवाफमा कप्तान रुबिना क्षेत्री प्रतियोगितामा ब्यक्तिगत दोश्रो अर्धशतक बनाएपनि क्याट क्विन्सले १७ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा १ सय ६ रन बनायो ।

क्याट क्विन्सको जितसँगै बिराटनगर टाइटन्सले पनि प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको छ । चितवन राइनोज र टाइटन्सबीच आइतबार हुने दोश्रो खेलले नै फाइनल पुग्ने टोलीको निर्धारण गर्नेछ । राइनोज र क्याट क्विन्सको समान ६ अंक रहेको छ । राइनोजले जितेको खण्डमा उ सिधै फाइनल प्रवेश गर्नेछ भने हारेको खण्डमा तीन टिम मध्ये रनरेटबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ ।

रश्मि चौलागाई (९) र रुबिनाले पहिलो विकेटको लागि ३४ रनको साझेदारी गर्दै क्याट क्विन्सलाई राम्रो शुरुवात दिएका थिए । त्यसपछि रुबिना र रोमा थापाले ४८ रनको पार्टनरसीप गरेपछि क्याट क्विन्सको जित तय भएको थियो ।

रुबिनाले ५२ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५९ रनमा नटआउट भइन् । रोमाले २३ बलमा दुई चौका हान्दै १८ रन बनाइन् ।

यसअघि फाल्कन्सका लागि पहिलो विकेटका लागि गिता गोसाई (१३) र रोशनी बोहोराले २४ रन जोडेपछि ममता चौधरी (१५) र रोशनीले अर्को ४४ रन जोडेका थिए ।

तर फाल्कन्सले पाएको ठोस शुरुवातलाई ठूलो योगफलमा बदल्न भने सकेन । कप्तान नेरी थापले केही आकर्षक शटहरु खेल्ने क्रममा १९ बलमा चार चौका सहित २२ रन बनाइन् । रोशनी ५० बलको सामना गर्दै २९ रनमा नटआउट रहिन् । उनले दुई चाका प्रहार गरिन् ।

क्याट क्विन्सका लागि इश्वरी बिष्टले दुई विकेट लिइन् भने सरस्वती कुमारी चौधरीले एक विकेट लिएकी थिइन् ।