क्याट क्विन्सद्वारा टाइटन्स ५२ रनले पराजित, पोखरा पल्टन बाहिरियो
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०२

क्याट क्विन्स काठमाडौंले उमेन्स च्याम्पियन्स लिगमा बिराटनगर टाइटन्स माथि ५२ रनको सहज जित हात पारेको छ । जितसँगै क्याट क्विन्सले प्लेअफको सम्भावनालाई कायम राखेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोश्रो खेलमा माथिल्लो क्रमका चार मध्ये तीन खेलाडी चम्किएपछि क्याट क्विन्सले तीन विकेटको क्षतिमा एक सय ३९ रनको मजबुत योगफल खडा ग¥यो । जवाफमा यसअघि दुई खेल जितिसकेको टाइटन्स २० ओभरमा पाँच विकेट गुमाउदै ८७ रनमै सिमित भयो ।

ओपनरद्वय ज्योति पाण्डे र सोनु खड्कालाई सस्तैमा पेभिलियन फर्काएपछि टाइटन्स दवाबमा आएको थियो । त्यसपछि सुमन बिष्टले कप्तान सरिता मगरलाई पनि आउट गरेपछि क्याट क्विन्स जिततर्फ अग्रसर भयो ।

चौथो विकेटका लागि लक्ष्मी चौधरी र डली भट्ट (१३) ले २७ रनको साझेदारी गरेपनि हारको अन्तर कम गर्न मात्र काम ग¥यो । लक्ष्मीले ५० बलमा पाँच चौका सहित नटआउट ४० रन बनाइन् । सुमनले दुई विकेट लिइन भने कप्तान रुबिना क्षेत्री र इश्वरी बिष्टले पनि एक–एक विकेट लिएका थिए ।

क्याट क्विन्सको जितपछि पोखरा पल्टन भने प्रतियोगिताबाटै बाहिरिएको छ । पल्टनले लगातार तीन खेल हारिसकेको छ ।

यसअघि टस हारि पहिलो ब्याटिङ्ग गरेको क्याट क्विन्सले रोमा थापाको अर्धशतकसँगै रश्मी चौलागाई र रुबिनाको महत्वपूर्ण योगदानमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो । दोश्रो ओभरमै शोभा आलेलाई गुमाएको क्याट क्विन्सका लागि रश्मी र रोमाले ७६ रनको साझेदारी गर्दै राम्रो योगफलको जग बसाएका थिए ।

रश्मी ४३ बलमा चार चौका प्रहार गर्दै ३४ रन बनाउदा रन आउट हुन पुगिन् । त्यसपछि रोमा र कप्तान रुबिनाले ६० रनको अर्को ठूलो साझेदारी गरेका थिए । रोमा ५२ बलमा ६ चौकाको मद्दतमा ५३ रनमा नटआउट रहिन् ।

रुबिनाले २४ बलमा ३५ रनको पारी खेलिन् । उनको इनिङ्गसमा तीन चौका र एक छक्का सामेल थियो ।