सीताको कप्तानी पारी, राइनोजलाई १ सय २८ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०७-०२

ओपनर तथा कप्तान सीता राना मगरले अर्धशतक प्रहार गरेपछि पोखरा पल्टनले उमेन्स च्याम्पियन्स लिगमा चितवन राइनोजलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको पल्टनले २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय २७ रन बनायो । त्यसमा सीताको पारि महत्वपूर्ण रह्यो । १७ रनमा दुई विकेट गुमाएपछि सीताले शिला क्षेत्रीसँग तेश्रो विकेटको लागि ३३ रनको साझेदारी गरिन् ।

मध्यक्रमका अन्यले ठूलो योगफल नबनाएपनि सीताले छैटौं विकेटका लागि मञ्जु बोगटीसँग ४३ रनको साझेदारी गरेका थिए । उनीहरुले अन्तिम दुई ओभरमा २८ रन जोडेका थिए । सीताले ५६ बलमा ७ चौका र एक छक्का सहित नटआउट ६५ रन बनाइन् ।

मञ्जुले महत्वपूर्ण इनिङ्गस खेल्ने क्रममा दुई छक्का र दुई चौकाको मद्दतमा १६ बलमै २४ रन हानिन् । राइनोजका लागि कविता गौतमले दुई विकेट लिएका थिइन् । आजको खेलमा जित हात पारेको खण्डमा राइनोज प्लेअफमा प्रवेश गर्नेछ भने पल्टन प्रतियोगिताबाट बाहिरिनेछ ।