ज्योति पाण्डेको उत्कृष्ट इनिङ्गसमा टाइटन्सको शान्दार जित
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-३०

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगमा शान्दार शुरुवात गर्दै ललितपुर फाल्कन्सलाई चार विकेटले पराजित गरेको छ ।

त्रिवि मैदानमा टस जिति पहिलो फिल्डिङ्ग रोजेको टाइटन्सले फाल्कन्सलाई २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रनमै रोक्यो । जवाफमा ओपनर ज्योति पाण्डे र सोनु खड्काले बिशाल साझेदारी गरेपछि टाइटन्सले १६ ओभरमा एक सय २३ रन बनायो ।

पहिलो विकेटका लागि ८३ रन जोडेपछि सोनु २६ बलमा २४ रन बनाई पेभिलियन फर्केकी थिइन् । लगत्तै टाइटन्सले लक्ष्मी चौधरीलाई अर्को रनआउटमा गुमाए पनि ज्योतिले कप्तान सरिता मगरसँग २१ रनको साझेदारी गरेपछि टोली जिततर्फ अग्रसर भएको थियो ।

ज्योतिलाई सम्झना खड्काले लँग अनमा कविता जोशीको हातबाट पेभलियन फर्काएपछि फाल्कन्सले झिनो आशालाई कायमै राखेको थियो । ज्योतिले ४३ बलमा १० चौका र एक छक्काको मद्दतमा ६५ रन बनाइन् । सम्झनाले अर्को बलमै सरिता (चार) लाई बोल्ड गरेपछि टाइटन्सले चौथो विकेट गुमाउन पुग्यो ।

फाल्कन्सले दुई रनको अन्तरमा अर्को दुई विकेट लिएपनि अस्मिना कर्माचार्यले लगातार दुई चौका प्रहार गरेपछि टाइटन्सको जित सुनिश्चित भएको थियो ।

यसअघि निकै खराब शुरुवात गर्दै पहिला पाँच विकेट ४७ रनमै गुमाएको फाल्कन्सलाई ममता चौधरी र करुणा भण्डारीले राम्रो साझेदारी गर्दै ७ विकेटको क्षतिमा १ सय २२ रनको सम्मानजक योगफलतर्फ डो¥याए ।

एक चौका र एक छक्का प्रहार गरेकी करुणाले १८ बलमा २१ रन बनाइन् । ममताले २४ बलमा तीन चौकाको मद्दतमा २८ रन बनाइन् । ९६ रनमा ७ विकेट गुमाएको फाल्कन्सलाई त्यसपछि कृति सेन र सोनु खड्काले २६ रन जोड्दै १ सय २५ रन नजिक पु¥याएका थिए ।

दुवैले ११ बलमा समान १३ रन बनाएका थिए । फाल्कन्सका पाँच खेलाडी रन आउट भएका थिए । टाइटन्सका लागि सबनम राइ र आरती बिडारीले एक–एक विकेट लिए भने अस्मिना कर्माचार्यले चार ओभरमा मात्र १३ रन खर्चिन् ।