रुबिनाको क्याट क्विन्सको पल्टन्स माथि ८२ रनको बिशाल जित
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-३०

रुबिना क्षेत्रीको आक्रमक अर्धशतक र चुस्त फिल्डिङ्गको मद्दतमा क्याट क्विन्स काठमाडौंले उमेन्स च्याम्पियन्स लिगको आफ्नो दोश्रो खेलमा पोखरा पल्टनलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

त्रिवि मैदानमा टस हारि पहिलो ब्याटिङ्ग गरेको क्याट क्विन्सले २० ओभरम ६ विकेट गुमाउदै एक सय ५२ रन बनायो । यस क्रममा रुबिनाले ६७ बलमा ८३ रन बनाइन् । जवाफमा कप्तान सिता राना मगरले धैर्यतापूर्ण शुरुवात दिलाउदै पहिलो विकेटको लागि ३१ रन जोडेपनि उनको विकेट पतनसँगै पल्टन धराशायी बन्न पुग्यो ।

पल्टन १६ दशमलव ५ ओभरमा ७० रनमै अल आउट हुन पुग्यो । पल्टनलाई सस्तैमा समेट्ने क्रममा क्याट क्विन्सले उत्कृष्ट फिल्डिङ्ग ग¥यो । उसले पाँच वटा रन आउट गरेको थियो जसमध्ये दुई डाइरेक्ट हिट रहेको थियो । सिताले १३ बलमा तीन चौका सहित १७ रन बनाईन् ।

बिन्दु रावल १३ रनमा आउट भइन् । क्याट क्विन्सका लागि अप्सरी बेगम र सरस्वती चौधरीले दुई दुई विकेट हात पारिन् ।

यसअघि पहिलो दुई विकेट २२ रनमै गुमाएको क्याट क्विन्सलाई सम्हाल्ने क्रममा रुबिनाले तेश्रो विकेटका लागि रोमा थापासँग ६४ रनको साझेदारी गरिन् ।

रोमाले २३ बलमा तीन चौकाको मद्दतमा १९ रन बनाइन् । निकै तिब्र गतिमा रन बटुलेको क्विन्सलाई रोक्ने क्रममा अनुराधा चौधरीले पाँच रनको अन्तरमा तीन विकेट लिएपछि पल्टनले राहत महसुस गरेको थियो ।

तर रुबिनाले आक्रमक ब्याटिङ्ग कायमै राख्दै छैटौं विकेटका लागि इश्वरी बिष्ट (१०) सँग अर्धशतकीय साझेदारी गरेपछि क्याट क्विन्सले चुनौतिपूर्ण योगफल खडा ग¥यो । क्याट क्विन्सले बिशाल योगफल खडा गर्नको लागि पल्टनको खराब फिल्डिङ्गले पनि भुमिका खेलेको थियो ।

उनले १४ चौका र दुई छक्का प्रहार गरेकी थिइन् । उनले ४७ बलमै आफ्नो अर्धशतक पुरा गरेकी थिइन् । अनुराधाले चार ओभरमा २८ रन खर्चदै चार विकेट लिएकी थिइन् ।