टेस्ट राष्ट्रलाई पराजित गर्न चुक्यो नेपाल, आयरल्याण्डसँग पराजित
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-२२

नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट राष्ट्रलाई पराजित गर्ने मौकामा चुकेको छ ।

ओमानमा जारी ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखलामा नेपालले टेस्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्ने मौकाबाट चुकेको हो । यो सँगै नेपालले प्रतियोगितामा पहिलो पराजय बेहोरेको छ ।

जितका लागि १ सय ४६ रन पछ्याएको नेपाल १९ दशमलव पाँच ओभरमा अल आउट हुदै १ सय ३२ रन बनायो । नेपालले १५ ओभरको समाप्ति हुँदासम्म मात्र दुई विकेटको क्षतिमा १ सय रन बनाएको थियो । तर अर्को चार बलमा तीन विकेट गुमेपछि नेपाल सस्तैमा समेटिन पुग्यो ।

नेपालका लागि आरिफ शेखले २६ बलमा २५ रन बनाए भने कप्तान पारस खड्काले १४ मा २५ उनले दुई छक्का र दुई चौका प्रहार गरे । जर्ज डकरेलले आफ्नै बलिङ्गमा उत्कृष्ट क्याच लिएपछि नेपालले दिपेन्द्र सिँह ऐरि आउट हुन पुगेका थिए ।

इशान पाण्डेले ३० बलमा २२ रन बनाएका थिए । उनले तीन चौका प्रहार गरे । अन्तिम ओभरमा जितका लागि २५ रन चाहिएको अवस्थामा करण केसीले पहिलो दुई बलमा छकका र चौका प्रहार गर्दै केही आशा जगाएका थिए । तर ह्यारी टेक्टरले उत्कृष्ट क्याच लिएपछि उनि तेश्रो बलमा आउट भए । करणले ९ बलमा १६ रन बनाए ।

यसअघि एक समय ९५ रनमा एक मात्र विकेट गुमाएको आयरल्याण्डले अर्को २९ रन जोड्दा ७ विकेट गुमाएपछि नेपालले उसलाई २० ओभरमा ८ विकेटको क्षतिभमा १ सय ४५ रनमै रोकेको थियो ।

स्ट्वर्ट थम्पसनले करणको अन्तिम ओभरमा १८ रन बटुलेपछि आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो ।

१६ औं ओभरमा आयरल्याण्डका ओपनर पल स्टर्लिङ्ग आउट भएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । स्टर्लिङ्गले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै आक्रमक ब्याट्स्म्यान केविन ओब्रायनलाई आउट गरेपछि आयरल्याण्डले बिशाल साझेदारी गरेको थियो । स्टर्लिङ्गले एन्डी बालबर्नीसँग ८८ रनको साझेदारी गरेपछि आयरल्याण्ड बिशाल योगफलतर्फ अग्रसर रहेको थियो । तर ललितले बालबर्नीलाई आउट गर्दै लामो साझेदारी तोड्न सफल भए ।

बालबर्नीले २८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ३८ रन बनाए । नेपालका लागि सन्दिपले चार ओभरमा २१ रन खर्चदै दुई विकेट लिए भने अविनाश बोहोराले पनि २२ रन दिएर दुई विकेट हात पारे ।