नेपालको पाँच विकेट गयो, १०० रन पुरा
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-२२

आयरल्याण्डबिरुद्ध जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपालले पाँच विकेट गुमाएको छ ।

आरिफ शेख २६ बलमा २५ रन बनाएर मार्क अडेरको बलमा आउट भएका छन् । नेपालले चार बल भित्र तीन विकेट गुमाउन पुगेको हो । जर्ज डकरेलले आफ्नै बलिङ्गमा उत्कृष्ट क्याच लिएपछि नेपालले दिपेन्द्र सिँह ऐरिलाई गुमाउन पुग्यो । उनले २० बलमा एक छक्का प्रहार गर्दै १९ रन बनाए । दिपेन्द्रले आरिफ शेखसँग तेश्रो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए ।

लगत्तै नेपालले बिनोद भण्डारीलाई रन आउटको रुपमा गुमायो । भण्डारीले एक रनमात्र बनाए ।

यसअघि आरिफले इशान पाण्डेसँग पनि दोश्रो विकेटका लागि ३८ रनको पार्टनरसिप गरे । इशानले ३० बलमा २२ रन बनाएका थिए । उनले तीन चौका प्रहार गरे ।

कप्तान पारस खड्का छरितो शुरुवात दिलाउने क्रममा मार्क अडेरको बलमा आउट हुन पुगे । पारसले १४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा २५ रन बनाए ।

यसअघि एक समय ९५ रनमा एक मात्र विकेट गुमाएको आयरल्याण्डले अर्को २९ रन जोड्दा ७ विकेट गुमाएपछि नेपालले उसलाई २० ओभरमा ८ विकेटको क्षतिभमा १ सय ४५ रनमै रोकेको थियो ।

स्ट्वर्ट थम्पसनले करण केसीले गरेको अन्तिम ओभरमा १८ रन बटुलेपछि आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाई १ सय ४५ रन बनाएको छ ।

करणले फालेको १६ औं ओभरमा आयरल्याण्डका कप्तान तथा ओपनर पल स्टर्लिङ्ग आउट भएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । स्टर्लिङ्गले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए ।