आयरल्याण्डबिरुद्ध जितका लागि नेपाललाई १ सय ४६ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०६-२२

आयरल्याण्डले नेपाललाई ओमानमा जारी ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखला अन्तर्गतको तेश्रो खेल जित्नका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ ।

एक समय ९५ रनमा एक मात्र विकेट गुमाएको आयरल्याण्डले अर्को २९ रन जोड्दा ७ विकेट गुमाएपछि उसको रन गतिमा अंकुश लागेको थियो । स्ट्वर्ट थम्पसनले करण केसीले गरेको अन्तिम ओभरमा १८ रन बटुलेपछि आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाई १ सय ४५ रन बनाएको छ ।

करणले फालेको १६ औं ओभरमा आयरल्याण्डका कप्तान तथा ओपनर पल स्टर्लिङ्ग आउट भएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । स्टर्लिङ्गले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए ।

अल अमिरातमा टस हारी पहिलो बलिङ्ग गरेको नेपालका लागि सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै आक्रमक ब्याट्स्म्यान केविन ओब्रायनलाई आउट गरेपछि आयरल्याण्डले बिशाल साझेदारी गरेको थियो ।

स्टर्लिङ्गले एन्डी बालबर्नीसँग ८८ रनको साझेदारी गरेपछि आयरल्याण्ड बिशाल योगफलतर्फ अग्रसर रहेको थियो । तर ललितले बालबर्नीलाई आउट गर्दै लामो साझेदारी तोड्न सफल भए ।

बालबर्नीले २८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ३८ रन बनाए । नेपालका लागि सन्दिपले चार ओभरमा २१ रन खर्चदै दुई विकेट लिए भने अविनाश बोहोराले पनि २२ रन दिएर दुई विकेट हात पारे ।