अफगानिस्तान बिरुद्धको टेस्टमा बंगलादेशको लज्जास्पद हार
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२३

वर्षाले प्रभावित खेलमा घरेलु टोली बंगलादेशलाई २२४ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले सनसनीपूर्ण जीत दर्ता गराएको छ । यस सँगै अफगानिस्तानले एक मात्र खेलको शृंखला आफ्नो पोल्टामा पारेको छ ।

जीतका लागि ३९८ रनको लक्ष्य लिएर ब्याटिंगमा आएको बंगलादेश मात्र १७३ रनमा समेटिए पछि अफगानिस्तानसँग २२४ रनको लज्जास्पद हारको सामना गरेको हो ।

पाँचौं तथा अन्तिम दिनको खेल बंगलादेशले १४३/६ को अवस्थामा शुरु गरेको थियो । लगातारको बर्षाका कारण अन्तिम दिनको खेल मात्र १८ ओभरको मात्र हुन सकेको थियो ।

अफगानिस्तानको जीतमा दोश्रो पारीमा कप्तान रशिद खानले सर्वाधिक छ विकेट लिए भने जाहिर खानले पनि तीन विकेट आफ्नो नाममा लेखाए ।

बंगलादेशका कप्तान शकिब अल हसनले दोश्रो पारीमा सर्वाधिक ४४ रन बनाए भने शदमान इस्लामले ४१ रन जोड्ने बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा लज्जास्पद हारको सामना गर्न पर्यो ।

खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले पहिलो पारीमा रहमत शाहको शतक तथा अस्गर अफगान र कप्तान रशिद खानको अर्धशतकमा ३४२ रन बनायो ।

अफगानिस्तानको तर्फबाट तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका रहमतले १८७ बलको सामना गर्दै १० चौका र दुई छक्काको मद्धतमा सर्वाधिक १०२ रन बनाए । यो सँगै उनी टेस्ट क्रिकेटमा अफगानिस्तानको लागि पहिले शतक बनाउने खेलाडी पनि बने । एक छोडबाट विकेट गुमाएको अफगानिस्तानको पारी सम्हाल्ने क्रममा रहमतली अस्गर अफगानसँग मिलेर चौथों विकेटको लागि १२० रन जोडे ।

रहमत बाहेक शतक बनाउन चुकेका पुर्व कप्तान अफगानली पनि १७४ बलको सामना गर्दै ९२ रनको पारी खेले । अफगानिस्तानको लागि पहिलो पटक टेस्टमा कप्तानी गरेका रशिदले आक्रमक पारी खेल्दै ६१ बलमा दुई चौका र तीन छक्काको मद्धतमा ५१ रन बनाए भने विकेट किपर अफ्सर ज़जाईले पनि ४१ रनको योगदान दिए ।

बंगलादेशका तैजुल इस्लामली सर्वाधिक चार विकेट लिए भने शकिब अल हसन र नईम हसनले पनि समान २-२ विकेट हात पारे ।

रशिद खानले पाँच विकेट लिए पछि बंगलादेश आफ्नो पहिलो पारीमा मात्र २०५ रनमा समेटियो । बंगलादेशको तर्फबाट पहिलो पारीमा मोमिनुल हकले सर्वाधिक ५२ रन बनाए भने मोसादेक होसैनले ४८ तथा लिटन दासले पनि ३३ रनको योगदान दिए ।

दोश्रो पारीमा अफगानिस्तानले मात्र २६० रन बनाउन सक्यो । दोश्रो पारीमा अफगानिस्तानका इब्राहिम ज़द्रानले सर्वाधिक ८७ रन जोडे भने अस्गर अफगानले पनि ५० रनको पारी खेले ।