नेपाललाई तेश्रो सफलता, हरिले तोडे शाझेदारी
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२२

श्रीलंकामा जारी यु१९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल यु१९ लाई तेश्रो सफलता हात लागेको छ ।

हरि बहादुर चौहानले ५६ बलमा ४० रन बनाएका महमुदुल हसन जोयलाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेश्रो सफलता दिलाएका हुन् । जोयले तोव्हिद हृदोयसँग तेश्रो विकेटका लागि ७९ रन जोडेका थिए । हृदोय ४१ रनमा अविजित छन् ।

नेपाललाई पहिलो सफलता रशिद खानले दिलाएका हुने भने दोश्रो कमल सिंह ऐरीले । रशिदले ३.१ ओभरमा १३ बलमा नौं रन बनाएका तन्जिद हसनलाई एलबिडब्लुको शिकार बनाए भने कमलले ४.५ ओभरमा १२ बलमा पाँच रन बनाएका अनिक सर्केर शतुलाई आसिफ शेखको हातबाट क्याच थमाएका हुन् ।

यस अघि पवन शर्राफ र सन्दिप जोराले अद्र्धशतक प्रहार गरेपछि नेपालले बङ्गलादेशलाई २ सय ६२ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

कोलम्बोमा टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ६१ रन बनायो । नेपाललाई राम्रो योगफलतर्फ धकेल्ने काम जोराले गरेका थिए ।

लामो समयपछि लयमा फर्कदै तिब्र अद्र्धशतक ठोकेका जोराले भिम सार्कीसँग छैटौ विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । पछिल्लो केही समय दोहोरो अंकका लागि समेत संघर्षरत जोराले ३३ बलमै अद्र्धशतक प्रहार गरे ।

जोराले मृत्युञ्जोय चौधरीको एकै ओभरमा २० रन ठोकेका थिए । उनले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाए । भिमले १९ बलमा दुई चौका प्रहार गर्दै २१ रन बनाए ।

यसअघि पवन शर्राफ भने शतक बनाउन बाट १९ रनले चुकेका थिए । सुस्त शुरुवातपछि इनिङ्गसलाई गति दिएका पवनले १ सय ९ बलको सामना गर्दै ८१ रन बनाए । उनलाई मृत्युञ्जोयले पेभिलियन फर्काए । पवनको इनिङ्गसमा आठ चौका र एक छक्का सामेल थियो । ७७ बलमा अद्र्धशतक प्रहार गर्ने क्रममा पवनले टोहिद रिदोयको एकै ओभरमा १६ रन प्रहार गरेका थिए ।

पवनले चौथो विकेटका लागि रोहित कुमार पौडेलसँग ६६ रनको साझेदारी गरेका थिए । रोहितले १४ रन बनाए । नेपाललाई सामान्य शुरुवात दिलाउने काम भने रित गौतमले गरेका थिए । उनले पवनसँग पहिलो विकेटका लागि ४५ रन बटुल्ने क्रममा ३२ रन बनाए ।

उनको इनिङ्गसमा तीन चौका र एक छक्का सामेल थियो । ९ रनको अन्तरमा दुई विकेट लिने क्रममा बङ्गलादेशले रित र आसिफ शेख (तीन) लाई पेभिलियन फर्कायो । त्यसपछि सुस्ताएको नेपाली इनिङ्गसलाई कुशल मल्लले तुलनात्मक रुपमा आक्रमक ब्याटिङ्ग गर्दै गति दिएका थिए । उनले ३३ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।