अण्डर १९ एसिया कपमा नेपालले बङ्गलादेशलाई जितका लागि दियो २ सय ६२ रनको चुनौतिपूर्ण लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२२

पवन शर्राफ र सन्दिप जोराले अद्र्धशतक प्रहार गरेपछि नेपालले एसिसि अण्डर १९ एसिया कपको आफ्नो दोश्रो खेलमा बङ्गलादेशलाई २ सय ६२ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कोलम्बोमा टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ६१ रन बनायो । नेपाललाई राम्रो योगफलतर्फ धकेल्ने काम जोराले गरेका थिए ।

लामो समयपछि लयमा फर्कदै तिब्र अद्र्धशतक ठोकेका जोराले भिम सार्कीसँग छैटौ विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । पछिल्लो केही समय दोहोरो अंकका लागि समेत संघर्षरत जोराले ३३ बलमै अद्र्धशतक प्रहार गरे ।

जोराले मृत्युञ्जोय चौधरीको एकै ओभरमा २० रन ठोकेका थिए । उनले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाए । भिमले १९ बलमा दुई चौका प्रहार गर्दै २१ रन बनाए ।

यसअघि पवन शर्राफ भने शतक बनाउन बाट १९ रनले चुकेका थिए । सुस्त शुरुवातपछि इनिङ्गसलाई गति दिएका पवनले १ सय ९ बलको सामना गर्दै ८१ रन बनाए । उनलाई मृत्युञ्जोयले पेभिलियन फर्काए । पवनको इनिङ्गसमा आठ चौका र एक छक्का सामेल थियो । ७७ बलमा अद्र्धशतक प्रहार गर्ने क्रममा पवनले टोहिद रिदोयको एकै ओभरमा १६ रन प्रहार गरेका थिए ।

पवनले चौथो विकेटका लागि रोहित कुमार पौडेलसँग ६६ रनको साझेदारी गरेका थिए । रोहितले १४ रन बनाए । नेपाललाई सामान्य शुरुवात दिलाउने काम भने रित गौतमले गरेका थिए । उनले पवनसँग पहिलो विकेटका लागि ४५ रन बटुल्ने क्रममा ३२ रन बनाए ।

उनको इनिङ्गसमा तीन चौका र एक छक्का सामेल थियो । ९ रनको अन्तरमा दुई विकेट लिने क्रममा बङ्गलादेशले रित र आसिफ शेख (तीन) लाई पेभिलियन फर्कायो । त्यसपछि सुस्ताएको नेपाली इनिङ्गसलाई कुशल मल्लले तुलनात्मक रुपमा आक्रमक ब्याटिङ्ग गर्दै गति दिएका थिए । उनले ३३ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।