पवनपछि जोराले प्रहार गरे तिब्र अद्र्धशतक, नेपाल चुनौतिपूर्ण योगफलतर्फ
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२२

सन्दिप जोराले लामो समयपछि लयमा फर्कदै तिब्र अद्र्धशतक ठोकेपछि नेपाल एसिसि अण्डर १९ एसिया कपमा बङ्गलादेशबिरुद्ध चुनौतिपूर्ण योगफलतर्फ अग्रसर भएको छ । नेपालले ४८ ओभरको समाप्तिमा २ सय ४४ रन बनाएको छ । जोरा र भिम सार्कीबीच छैटौ विकेटका लागि ७१ रनको साझेदारी भैसकेको छ ।

पछिल्लो केही समय दोहोरो अंकका लागि समेत संघर्षरत जोराले ३३ बलमै अद्र्धशतक प्रहार गरे । उनले मृत्युञ्जोय चौधरीको एकै ओभरमा २० रन ठोकेका थिए । उनको इनिङ्गसमा तीन छक्का र तीन चौका समावेश छ ।

यसअघि पवन शर्राफ भने शतक बनाउन बाट १९ रनले चुकेका थिए । कोलम्बोमा सुस्त शुरुवातपछि इनिङ्गसलाई गति दिएका पवनले १ सय ९ बलको सामना गर्दै ८१ रन बनाए । उनलाई मृत्युञ्जोयले पेभिलियन फर्काए ।

पवनको इनिङ्गसमा आठ चौका र एक छक्का सामेल थियो । ७७ बलमा अद्र्धशतक प्रहार गर्ने क्रममा पवनले टोहिद रिदोयको एकै ओभरमा १६ रन प्रहार गरेका थिए । पवनले चौथो विकेटका लागि रोहित कुमार पौडेलसँग ६६ रनको साझेदारी गरेका थिए ।