एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेट पराजित
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले श्रीलंका यु१९ सँग पाँच विकेटको सहज हारको सामना गरेको छ ।

जीतका लागि १६० रनको सामान्य लक्ष्य लिएर ब्याटिंगमा ओर्लिएको श्रीलंकाले ३३ दशमलब चार ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जीत आत्मसाथ गर्यो ।

श्रीलंकाको जीतमा ओपनर तथा विकेट किपर कमिल मिश्राले अर्धशतकीय पारी खेले भने आहान विक्रामासिंघेले पनि ३० रनको योगदान दिए । ६२ बलको सामना गरेका मिश्राले रशिद खानको शिकार हुन अघि तीन चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ५५ रन बनाए भने विक्रामासिंघेले पनि ३६ बलमा दुई चौका प्रहार गरे ।

श्रीलंकाका अन्य ब्याट्सम्यानहरुमा रसन्था डि सिल्भा १५ बलमा १५ रन, नवोद परनाविथाना ११ बलमा १२ रन तथा कप्तान निपुन धनन्जय ३१ बलमा १८ रन बनाएर आउट भए भने अभिस्का थारिन्दुले अविजित रहँदै २४ रन बनाए ।

नेपालको तर्फबाट रशिद खानले सर्वाधिक दुई विकेट लिए भने पवन सर्राफ, कमल सिंह ऐरी र सागर ढकालले पनि एक एक विकेट हात पारे । त्यस बाहेक अन्य बलरहरुले विकेट निकाल्न नसक्दा नेपालले पराजय भोग्न पर्यो ।

यस अघि ओपनर रित गौतम र कप्तान रोहित कुमार पौडेलको उत्कृस्ट पारीका बाबजुत यु१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले श्रीलंका यु१९ लाई १६० रनको लक्ष्य दिएको छ ।

वर्षा बाधक भएसँगै खेल ४२ ओभरमा छोट्टाईएको खेलमा नेपालले ४२ ओभरमा नौं विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो ।

छ दशमलब पाँच ओभरमा २४ रन भएको अवस्थामा दुई विकेट गुमाएको नेपालको पारी सम्हाल्ने क्रममा ओपनर रित गौतम र कप्तान रोहित कुमार पौडेलले ९१ रन जोडे ।

नेपालको तर्फबाट सर्वाधिक रन जोडेका रितले ८५ बलको सामना गर्दै चार चौकाको मद्धतमा ५४ रन बनाए । त्यस्तै अर्ध शतक बनाउन चुके पनि सम्हालिएको पारी खेलेका रोहितले ८० बलमा ४७ रनको पारी खेले ।

आजको खेलमा खराब शुरुवात गरेको नेपालले ओपनर पवन सर्राफलाई चार तथा विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई सात रनमा गुमाएको हो । क्रमसः १३ र १२ बलको सामना गरेका पवन र आसिफ दिलशान मदुशंकाको शिकार भएका हुन् ।

रोहित र रितको विकेटको पतन पछि क्रिजमा आएका भिम सार्की एक, कुशल मल्ल दुई, हरि बहादुर चौहान १२ तथा कमल सिंह ऐरी दुई रनमा पेभेलियन फर्किए भने रशिद खान १५ तथा सगर ढकाल एक रनमा अविजित रहे ।