अण्डर १९ एसिया कपः अफगानिस्तान सामु पाकिस्तान फेरि निरिह
क्रीकेटिङ्ग नेपाल     २०७६-०५-१९

अफगानिस्नले एसिसि अण्डर १९ एसिया कपमा उत्कृष्ट शुरुवात गर्दै पाकिस्तानलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

समुह ए अन्तर्गत कोलम्बोमा बिहिबार भएको खेलमा टस हारी पहिलो ब्याटिङ्ग गरेको अफगानिस्तानले ४६ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाउदैं १ सय ६२ रन बनायो । जवाफमा पाकिस्तान १९ दशमलव चार ओभरमा ७८ रनमै समेटियो ।

इर्फान खान (१९) र रोहेल नजिर (१६) ले मात्र पाकिस्तानका लागि दोहोरो अंकमा रन बटुलेका थिए । शफिकुल्लाह गफारीले अफगानिस्तानको लागि सर्वाधिक तीन विकेट लिए भने फजल हक, अबिदुल्लाह तनिवल र नुर अहमदले दुई–दुई विकेट लिएका थिए ।

फर्हान जखिल (१९) र सेदिकुल्लाह अटलले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेपनि अफगानिस्तन खुलेर खेल्न भने सकेको थिएन । अटलले उसका लागि सर्वाधिक २९ रन बनाए । यस्तै रहमानुल्लाहले २७ रनको योगदान दिएका थिए ।

पाकिस्तानका लागि अमिर अलि र फहाद मुनिरले तीन–तीन विकेट हात पारे । यो समुहको अर्को दुई टोली भारत र कुवेत रहेको छ । बिहिबार नै भएको अर्को खेलमा भारतले कुवेतलाई सात विकेटले हरायो ।

नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल शुक्रबार श्रीलंकाबिरुद्ध खेल्नेछ । समुह बीका अर्का दुई टोली बङ्गलादशे र युएई रहेका छन् ।