ब्रेण्डन म्याक्कुलम कोलकाता नाइट राइडर्सका प्रशिक्षक
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-३०

न्युजिल्याण्डका पूर्व कप्तान ब्रेन्डन म्याक्कुलम इण्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सको प्रशिक्षक नियुक्त भएका छन् ।

अघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका म्याक्कुलमले हालै क्यानडामा सम्पन्न ग्लोबल ट्वान्टी ट्वान्टीबाट सम्पूर्ण क्रिकेटबाट सन्यास लिएका थिए । उनले आफ्नो चाहना अब प्रशिक्षणमा रहेको पनि बताएका थिए ।

यस् २००८ को पहिलो संस्करणको आईपिएललाई उत्कृष्ट शुरुवात दिलाउने क्रममा म्याक्कुलमले कोलकाताबाट खेल्दै ७३ बलमै १ सय ५८ रनको बिष्फोटक पारि खेलेका थिए । रोयल च्यालेञ्जर्स बेङ्गलोरबिरुद्धको आईपिएल इतिहासकै पहिलो खेलमा उनले १३ छक्का र १० चौका प्रहार गरेपछि कोलकाताले २ सय २२ रन बनाएको थियो ।

बेङ्गलोर ८२ रनमा आउट भएपछि कोलकोताले १ सय ४० रनले खेल जितेको थियो । म्याक्कुलमले यसअघि नै क्यारेबियन प्रिमियर लिगको टोली ट्रिन्बागो नाइट राइडर्सको प्रशिक्षण प्रस्तावलाई स्विकार गरिसकेका थिए ।

ट्रिन्बागो र कोलकाता एउटै कम्पनीको मातहातमा रहेका टोली हुन् । उक्त कम्पनीका मालिक मध्ये एक बलिउड सुपरस्टार शाहरुख खान हुन् ।

यो जिम्मेवारी लिनु मेरो लागि ठूलो सम्मान हो । आईपिएल र सिपिएलमा नाइट राइडर्सको फ्राञ्जाइजले निकै राम्रो गुणस्तर बोकेको छ । दुवै टोलीमा राम्रा खेलाडीहरु र सपोर्ट स्टाफहरु रहेका छन्, म्याक्कुलमले भनेका छन् ।