कोहलीले ४३ औं शतक ठोकेपछि वेष्ट इण्डिजबीरुद्धको श्रंखला भारतलाई
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-३०

इङ्गल्याण्ड र वेल्समा सम्पन्न क्रिकेट बिश्वकपमा टप अर्डरले धेरै जसो रन बनाएपछि तीन अंक नछोएका कप्तान बिराट कोहलीले लगातार दोश्रो शतक प्रहार गरेपछि भारतले वेष्ट इण्डिजलाई तेश्रो एक दिवसीयमा डकवर्थ लेविसका आधारमा ६ विकेटले पराजित गरेको छ ।

जितसँगै तीन म्याचको श्रंखला भारतले २–० ले पराजित गरेको छ । पहिलो एकदिवसीय बर्षाका कारण रद्द भएको छ । एकदिवसीय क्रिकेटमा कोहलीको यो ४३ औं शतक हो । उनी अब सचिन तेन्दुल्कर भन्दा ६ शतकले मात्र टाढा रहेका छन् । एकदिवसीय र टेस्ट कोहलीको अहिलेसम्म ६८ शतक भइसकेको छ ।

वेष्ट इण्डिजका आक्रमक ब्याट्स्म्यान क्रिस गेलको अन्तिम एकदिवसीय खेलमा घरेलु टोलीले बर्षाका कारण ३५ ओभरमा छोट्याइएको खेलमा ७ विकेटको क्षतिमा २ सय ४० रन बनायो । उसका लागि गेलले पुरानै लयमा फर्कदै ४१ बलमा ७२ रन बनाएका थिए ।

भारतका लागि लक्ष्य २ सय ५६ रन दिइएको थियो र उसले ९२ रनमै तीन विकेट गुमाएपनि कोहलीले श्रेयस ऐयरसँग १ सय २० रनको साझेदारी गरेपछि ३२ दशमलव तीन ओभरमा चार विकेट गुमाई २ सय ५६ रन बनायो ।

कोहलीले ९९ बलमा १४ चौकाको मद्दतमा १ सय १४ रन बनाए भने ऐयरले ४१ बलमा ६५ । उनले पाँच छक्का र तीन चौका प्रहार गरे । ओपनर शिखर धवनले ३६ र केदार जाधवले १९ रन बनाए । वेष्ट इण्डिजका लागि फाबियन एलेनले दुई विकेट लिए ।

यसअघि निकै नै उत्कृष्ट शुरुवात गरेको वेष्ट इण्डिजका लागि गेल र एभिन लेविसले पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गरे । ६ रनको अन्तरमा आउट हुनुअघि दुई ओपनरले झण्डै ११ रन प्रति ओभरको औसतमा रन बटुलेका थिए ।

गेलले आठ चौका र पाँच छक्का प्रहार गरे । लेविसले २९ बलमा ४३ रन बनाए । उनले पाँच चौका र तीन छक्का हिर्काएका थिए । निकोलस पुरन (३०), सिमरोन हेट्मायर (२५) र से होप (२४) ले पनि उल्लेखनीय योगदान दिएका थिए ।

भारतका लागि अहमदले तीन र मोहम्मद सामीले दुई विकेट लिए । दुई टिमबीच अब दुई म्याचको टेस्ट श्रंखलमा हुनेछ । पहिलो टेस्ट अगष्ट २२ मा नर्थ साउण्डमा हुनेछ ।