ईपिएलको मिति घोषणा, टेस्ट राष्ट्रका आइकोनिक खेलाडी राख्नै पर्ने
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२७

एभरेस्ट प्रिमिएर लिग (ईपिएल) को तेश्रो संस्करणको मिति सार्वजनिक भएको छ । आयोजक एभरेस्ट प्रिमिएर लिग प्रालीले एक प्रेश बिज्ञप्ति जारी गर्दै मिति सार्वजनिक गरिएको हो ।

यस अघि डिसेम्बरमा भएको प्रतियोगिताको तेश्रो संस्करण भने फेब्रुअरी २९ देखि मार्च १४ (फाल्गुन १७ गते देखि चैत्र एक गते) सम्म टियु क्रिकेट मैदानमा हुने भएको छ ।

त्यस्तै यस पटकको संस्करणमा सबै टोलीले टेस्ट राष्ट्रका खेलाडीहरुलाई आइकोनिक खेलाडीका रुपमा राख्नै पर्ने प्राबधान राखिएको छ । यस अघिको संस्करणमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी मैदानमा उतार्नै पर्ने प्राबधान थियो । यस प्रतियोगितालाई अझै बढी भब्य बनाउन आइकोनिक खेलाडी राख्न लागिएको आयोजकको दाबी छ । टेस्ट रास्ट्रका आइकोनिक खेलाडी हुने भए पछि नाम चलेका खेलाडी खेल्ने विश्वास आयोजकको छ ।

गत वर्ष पोखरा राईनोजबाट रिचर्ड लेबी, काठमाडौँ किंग्स ११ बाट केविन ओ'ब्रायन, भैरहवा ग्ल्याडियटर्सबाट रायन टेन डोयसकाटे जस्ता खेलाडी खेलाडीहरुले खेलेका थिए ।

प्रतियोगितामा सहभागी टोलीहरु भैरहवा ग्ल्याडियटर्स, काठमाडौँ किंग्स ११, पोखरा राईनोज, चितवन टाईगर्स, बिराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स रहेका छन् । ललितपुर यस प्रतियोगिताको डिफेंडिंग च्याम्पियन हो भने पहिलो संस्करण माथि बिराटनगरले कब्जा जमाएको थियो । भैरहवा भने दुबै संस्करणमा उपविजेता रहेको थियो ।

त्यस्तै आयोजकले यस पटकको संस्करणमा प्रत्यक्ष्य प्रसारणको लागि विदेशी कम्पनीहरुसँग पनि कुराकानी भइरहेको जनाएको छ । गत संस्करणमा ३० लाख भन्दा बढी दर्शकले टिभी र अनलाइन मार्फत ईपिएल हेरेको र यस संस्करणमा प्रत्यक्ष्य प्रसारणमा अझै बढी दर्शक जोडिने अपेक्षा पनि आयोजकको रहेको छ ।