पहिलो अन्तरास्ट्रिय लिगको सहभागितामा नै सोमपाल च्याम्पियन
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२७

पहिलो पटक अन्तरास्ट्रिय लिगमा सहभागिता जनाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामी च्याम्पियन बनेका छन् ।

सोमपाल सम्मिलित विनिपेग हक्सले क्यानडामा सम्पन्न ग्लोबल टि-ट्वान्टी लिगको उपाधि चुमेको हो । आज बिहान सम्पन्न फाइनल खेलमा भानकोउभर नाईट्सलाई सुपर ओभरमा पराजित गर्दै विनिपेगले उपाधि माथि कब्जा जमाएको हो ।

सुपर ओभरमा पहिले ब्याटिंग गरेको भानकोउभरले मात्र नौं रन बनाउन सक्यो भने १० रनको लक्ष्य चार बलमा नै पार गर्दै जीत हात पार्यो । यस अघि २० ओभरको खेल बराबरीमा टुंगिएको थियो ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको विनिपेगले २० ओभरमा आठ विकेट गुमाएर १९२ रन बनायो । उसका लागि ओपनर शैमान अनवरले ४५ बलको सामना गर्दै आठ चौका र सात छक्काको मद्धतमा सर्वाधिक ९० रन बनाए भने क्रिस लिन र जेपी डुमिनीले पनि ३३ रनको योगदान दिए ।

भानकोउभरका आन्द्रे रसेलले सर्वाधिक चार विकेट लिए भने रायन पठानले पनि दुई विकेट हात पारे ।

खराब शुरुवात गरेको भानकोउभरको लागि कप्तान सोएब मलिक र आन्द्रे रसेलको तुफानी पारीको मद्धतमा २० ओभरमा छ विकेट गुमाएर १९२ रन बनायो र खेल बराबरीमा सकियो । मलिकले ३६ बलमा छ चौका र तीन छक्काको मद्धतमा ६४ रन बनाए भने अविजित रहेको रसेलले २० बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए ।

प्रतियोगितामा एक मात्र खेल खेल्न पाए सोमपालले

पहिलो पटक कुनै पनि अन्तरास्ट्रिय लिगमा सहभागिता जनाएका सोमपालले यस संस्करणमा मात्र एक खेल खेल्न पाए । एडमोंटन रोयल्ससँगको खेलमा शुरुवाती ११ मा परेका सोमपालले ब्याटिंग तर्फ पाँच बल खेल्दै एक रनमा अविजित रहे भने दुई ओभर मात्र बलिंग गरेका उनले ३३ रन खर्चिएका थिए भने विकेट पनि हात पार्न सकेनन् ।