कोहलीको ४२औं शतकमा भारतले वेस्ट इण्डिजलाई दियो २८० रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२६

कप्तान बिराट कोहलीको ४२औं एकदिवसीय शतक तथा श्रेयस ऐयरको अर्धशतकमा भारतले घरेलु टोली वेस्ट इण्डिजलाई दोश्रो एकदिवसीय खेलमा २८० रनको लक्ष्य दिएको छ ।

त्रिनिडाडमा जारी खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको भारतले ५० ओभरमा सात विकेट गुमाएर २७९ रन बनायो ।

भारतको लागि कप्तान बिराट कोहलीले सर्वाधिक १२० रन बनाए । आफ्नो खेल जीवनको ४२ औं शतक प्रहार गरेका कोहलीले १२५ बलको सामना गर्दै १४ चौका र एक छक्का प्रहार गरे । ४१ दशमलब तीन ओभरमा कोहली कार्लोस ब्राथवैटको शिकार भए । आजको शतक पछि कोहली मास्टर ब्लास्टर सचिन तेन्दुलकर भन्दा सात शतकले पछि रहेका छन् । सचिनको नाममा एकदिवसीय खेलमा ४९ शतक रहेको छ ।

ओपनरद्वय शिखर धवन र रोहित शर्मा क्रमसः दुई र १८ तथा विकेट किपर ब्याट्सम्यान रिशब पन्त २० रन बनाएर आउट भए पछि दबाबमा आएको भारतको लागि कप्तान कोहली र पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका श्रेयस ऐयरले चौथों विकेटका लागि १२५ रन जोड्दै पारी उकासे । छैठौं पारीमा तेश्रो अर्धशतक प्रहार गरेका ऐयर ६८ बलमा ७१ रन बनाएर आउट भए ।

वेस्ट इण्डिजका कार्लोस ब्राथवैटले सर्वाधिक तीन विकेट हात पारे ।

तीन खेलको शृंखला ०-० को अवस्थमा रहेको छ । पहिलो खेलमा वर्षा बाधक भए पछि रद्ध भएको थियो ।