कोहलीको नाममा अर्को किर्तिमान, तोडे गांगुलीको किर्तिमान
क्रीकेटिङ्ग नेपाल     २०७६-०४-२६

एक पछि अर्को किर्तिमान आफ्नो नाममा लेखाएका भारतका कप्तान बिराट कोहलीले फेरी अर्को किर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

घरेलु टोली वेस्ट इण्डिज बिरुद्ध जारी दोश्रो एकदिवसीय खेलमा रन बनाएर क्रिजमा टिकी रहेका कोहली एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा दोश्रो भारतीय ब्याट्सम्यान बनेका छन् । ३११ खेलमा ३०० पारी खेलेका गांगुलीको नाममा ११ हजार तीन सय ६३ रन रहेको थियो भने २३८ खेल खेलेका कोहलीले २२९ औं पारीमा गांगुलीको किर्तिमान भंग गरेका हुन् ।

कोहलीले पहिलो पारीको ३१ दशमलब तीन ओभरमा वेस्ट इण्डिजका कप्तान जेसन होल्डरको बलमा चौका प्रहार गर्दे किर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

भारतीय ब्याट्सम्यानहरु मध्य अब मास्टर ब्लास्टर सचिन तेन्दुलकर मात्र कोहली भन्दा अघि छन् । ४६३ एकदिवसीय खेल खेलेका सचिनको नाममा १८ हजार चार सय २६ रन रहेको छ । सचिन एकदिवसीय खेलमा सबै भन्दा धेरै रन बनाउने खलाडीको सुचिमा पनि पहिलो नम्बरमा रहेका छन् ।

त्यस्तै कोहली धेरै रन बनाउने खेलाडीको सुचिमा आठौं नम्बरमा उक्लिएका छन् । उनी भन्दा अघि सचिन तेन्दुलकर, कुमार संगाकारा, रिकी पोन्टिंग, सनथ जयसुर्या, महेला जयवर्दने, इंजमाम-उल-हक र ज्याक कालिस रहेका छन् ।