इंग्ल्यान्डलाई पहिलो पटक विश्वकपको उपाधि, न्युजिल्याण्ड लगातार दोश्रो पटक फाइनलमा पराजित
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-३०

निकै नै रोमान्चक खेलमा न्युजिल्याण्डलाई धेरै चौका प्रहार गरेको आधारमा आयोजक इंग्ल्यान्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको छ । उता न्युजिल्याण्ड भने लगातार दोश्रो पटक फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएको छ ।

सुपर ओभरमा पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले १५ रन बनायो भने १६ रनको लक्ष्य लिएर जवाफी ब्याटिंग गरेको न्युजिल्याण्डले पनि १५ रन बनाए पछि इंग्ल्यान्डले धेरै चौका प्रहार गरेको आधारमा विश्वकपको उपाधि चुमेको हो ।

२४२ रनको लक्ष्य लिएर ब्याटिंग गर्न आएको इंग्ल्यान्डले ५० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २४१ रन बनाए पछि खेल सुपर ओभरमा गएको हो ।

अन्तिम ओभरमा इंग्ल्यान्डलाई जीतको लागि १५ रन आवस्यक परेको अवस्थामा बेन स्टोक्सले तेश्रो तथा चौथों बलमा लगातार दुई छक्का प्रहार गर्दै इंग्ल्यान्डलाई जीत नजिक पुर्याएता पनि अन्तिम दुई बलमा दुई रन बनाउँदै दुई रन आउट भए पछि खेल बराबरीमा सकियो । ९८ बलको सामना गरेका स्टोक्स ८४ रनमा अवीजित रहे ।

इंग्ल्यान्डका ओपनर जेसन रोय १७, जो रुट सात तथा कप्तान इवोन मोर्गन नौं रन बनाएर खराब शुरुवात गरेको इंग्ल्यान्ड जोनी बैरस्टोव ३६ रन बनाएर आउट भए पछि ८६ रनमा चार विकेट झन् दबाबमा आयो ।

त्यस पछि बेन स्टोक्स र जस बटलरले पाँचौ विकेटका लागि ११० रन जोड्दै इंग्ल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे । ६० बलको सामना गर्दै ५९ रन बनाएका बटलर लियाम फर्गुसनको शिकार भए पछि इंग्ल्यान्ड हारको नजिक पुग्यो । त्यस पछि आएका ब्याट्सम्यानहरुले पनि खासै योगदान दिन सकेनन् ।

न्युजिल्याण्डका लियाम फर्गुसन र जेम्स निस्हमले समान ३-३ विकेट लिए ।

यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा २४१ रनको सामान्य योगफल बनाउन सक्यो ।

न्युजिल्याण्डको लागि ओपनर हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए भने विकेट किपर ब्याट्सम्यान ब्याट्सम्यान टम लाथमले ४७ तथा कप्तान केन विलियमसनले पनि ३० रनको योगदान दिए । न्युजिल्याण्डका प्राय ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडेता पनि ठुलो स्कोरको योगदान दिन नसक्दा विशाल योगफल बनाउनबाट चुक्यो ।

सुस्त शुरुवात गरेको न्युजिल्याण्डले आफ्नो पहिलो विकेटका रुपमा मार्टिन गुप्टिललाई गुमायो । १९ रन बनाएका उनी क्रिस वोक्सको बलमा एलबिडब्लुको शिकार भए । त्यस पछि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका कप्तान विलियमसनले अर्का ओपनर निकोलससँग मिलेर दोश्रो विकेटका लागि ७४ रनको शाझेदारी गरे भने लाथमले छैठौं विकेटका लागि कोलिन डि ग्रान्डहोमसँग ४६ रनको शझेदारी गर्दै न्युजिल्याण्डलाई सम्मानजनक स्कोर सम्म पुर्याए ।

न्युजिल्याण्डलाई मध्यम स्कोरमा रोक्ने क्रममा इंग्ल्यान्डका लियाम प्लंकेटले र क्रिस वोक्सले समान ३-३ विकेट मार्क उडले र जोफ्रा आर्चरले पनि समान १-१ विकेट दर्ता गराए । प्लंकेट र आर्चरले १० ओभरमा मात्र ४२-४२ रन खर्चिए ।