भारत विश्वकपबाट बाहिर, १८ रनको जीत निकाल्दै न्युजिल्याण्ड लगातार दोश्रो पटक फाइनलमा
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-२५

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपको सेमीफाइनलमा भारतलाई १८ रनको अन्तरले पराजित गर्दै न्युजिल्याण्ड लगातार दोश्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । अब फाइनलमा न्युजिल्याण्डले अस्ट्रेलिया र आयोजक इंग्ल्यान्डसँगको बिजेतासँग उपाधिका लागि भिड्ने छ ।

जीतका लागि २४० रनको सामान्य लक्ष्य लिएर ब्याटिंगमा आएको भारतले ४९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र २२१ बनाउन सक्यो ।

भारतले ३.१ ओभरमा पाँच रन जोड्दा तीन विकेट गुमाउँदै खराब शुरुवात गर्यो । भारतका ओपनरद्वय केएल राहुल र रोहित शर्मा तथा कप्तान विराट कोहली समान १-१ रन जोड्दै आउट भए । राहुल र शर्मा म्याट हेनरीको शिकार भए भने कोहलीलाई ट्रेन्ट बोल्टले एलबिडव्लुको धरापमा पारे ।

त्यस पछि रिशब पन्त र हार्दिक पण्डयाले ४७ रन जोड्दै भारतलाई खेलमा खेलमा फर्काउने प्रयास गरे । दुबै ब्याट्सम्यान ३२-३२ रन जोड्दै आउट भए । त्यस पछि आएका विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी र रबिन्द्र जडेजाले सातौं विकेटका लागि ११६ रन जोड्दै भारतलाई जीत तर्फ लागे । तर पाँच बलको अन्तरालमा धोनी र जडेजा आउट भए पछि भारत हारको संघारमा पुग्यो । आक्रमक पारी खेलेका जडेजाले ५९ बलमा ७७ रन बनाए भने धोनीले ७२ बलमा ५० रनको योगदान दिए ।

न्युजिल्याण्डको जीतमा म्याट हेनरीले सर्वाधिक तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल स्यान्टनरले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाएर २३९ रनको सामान्य योगफल बनाउन सक्यो । हिजो वर्षाका कारण खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलब एक ओभरमा पाँच विकेट गुमाएर २११ रन बनाएको थियो भने आज २३ बलमा थप २८ रन जोड्न सक्यो र तीन विकेट पनि गुमायो ।

न्युजिल्याण्डको तर्फबाट रस टेलरले सर्वाधिक ७४ रन जोडे भने कप्तान केन विलियमसनले पनि ६७ रनको पारी खेले । रबिन्द्र जडेजाबाट रन आउट भएका टेलरले ९० बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । त्यस्तै विलियमसनले पनि ९५ बलमा छ चौका प्रहार गरे ।

तीन दशमलब तीन ओभरमा टोलीको मात्र एक रन भएको अवस्थमा ओपनर मार्टिन गुप्टिललाई गुमाएर खराब शुरुवात गरेको न्युजिल्याण्डको पारी सम्हाल्ने क्रममा कप्तान विलियमसनले दोश्रो विकेटका लागि २८ रन बनाएका हेनरी निकोलससँग मिलेर ६८ तथा तेश्रो विकेटका लागि टेलरसँग मिलेर ६५ रन जोडे । न्युजिल्याण्डका अन्य ब्याट्सम्यानहरुले उलेख्य मात्रमा रन जोड्न नसक्दा ठुलो स्कोर बनाउन सकेन ।

न्युजिल्याण्डलाई सस्तैमा रोक्ने क्रममा भुवनेश्वर कुमारले सर्वाधिक तीन विकेट लिए भने जसप्रित बुम्रा, हार्दिक पाण्डया , रबिन्द्र जडेजा र युज्बेन्द्र चाहालले पनि समान एक एक विकेट हात पारे । १०-१० ओभर बलिंग गरेका जडेजा, बुम्रा र कुमारले क्रमसः ३४, ३९ र ४३ रन खर्चिए ।