अफ्रिदीको घातक बलिंग र बाबरको शतकमा न्युजिल्याण्डको पहिलो हार
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-१२

तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीको घातक बलिंग र बाबर अजामको शतकीय पारीको मद्धतमा इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा पाकिस्तानले न्युजिल्याण्ड माथि छ विकेटको रोमान्चक जीत आत्मसाथ गरेको छ ।

सातौं खेलमा न्युजिल्याण्डको यो पहिलो हार हो भने सात खेलमा नै पाकिस्तानले तेश्रो जीत हो । यस जीतसँगै पाकिस्तानले आफ्नो विश्वकप सपना यथावत राखेको छ भने न्युजिल्याण्डले सेमीफाइनल स्थान पक्का गर्न सकेन ।

जीतका लागि २३८ रनको लक्ष्य पक्ष्याएको पाकिस्तानले ४९ दशमलब एक ओभर खेल्दै चार विकेटको नोक्सानीमा जीत हात पार्यो ।

एक समय २४ दशमलब पाँच ओभरमा ११० रनको अवस्थमा तीन विकेट गुमाएको पाकिस्तानको पारी सम्हाल्ने क्रममा बाबर अजाम र ह्यारिस सोहेलले १२६ रनको शाझेदारी गरे । पाकिस्तानको जीतमा अजामले १२७ बलको सामना गर्दै ११ चौकाको मद्धतमा सर्वाधिक १०१ रन बनाए भने अजाम सोहेल भने ७६ बलमा ७८ प्रहार गर्दै रन आउट भए । पाकिस्तानलाई महत्वपुर्ण जीत दिलाउने क्रममा मोहम्मद हफिजले पनि ३२ रनको योगदान दिए ।

यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभरमा छ विकेट गुमाएर २३७ रनको सामान्य योगफल बनाउन सक्यो ।

२६ दशमलब दुई ओभरमा ८३ रनमा आफ्नो महत्वपुर्ण पाँच विकेट गुमाएको न्युजिल्याण्डको लागि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका जेम्स नीस्हम र कोलिन डि ग्रान्डहोमले छैठौं विकेटका लागि १३२ रन जोड्दै पारी सम्हाले । ११२ बलको सामना गरेका नीस्हमले पाँच चौका र तीन छक्काको मद्धतमा अविजित ९७ रन जोडे भने ग्रान्डहोमले ७१ बलमा ६४ रन तथा कप्तान केन विलियमसनले पनि ४१ रनको योगदान दिए ।

न्युजिल्याण्डलाई शुरुवाती झड्का दिने क्रममा शाहीन शाह अफ्रिदीले सर्वाधिक चार विकेट लिए भने मोहम्मद आमिर र शदाब खानले पनि समान १-१ विकेट हात पारे । किफायती बलिंग गरेका अफ्रिदीले १० ओभरमा तीन मेडन ओभर राख्दै मात्र २८ रन खर्चिए ।