इंग्लिस टोलीलाई स्तब्ध पार्दै अस्ट्रेलिया विश्वकपको सेमीमा
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-१०

बलरहरु चम्के पछि आयोजक राष्ट्र इंग्ल्यान्डलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै अस्ट्रेलियाका अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ र विश्वकपको सेमीफाइनलमा प्रवेस गरेको छ । सात खेल खेलेको अस्ट्रेलिया छ जीत र एक हारका साथ १२ अंक बोक्दै पहिलो स्थानमा उक्लिएको हो । सात खेल नै खेलेको इंग्ल्यान्डको यो तेश्रो हार हो ।

जीतका लागि २८६ रनको लक्ष्य पक्ष्याएको इंग्ल्यान्डले ४४ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र २२१ रन बनाउन सक्यो ।

इंग्ल्यान्डलाई रोक्ने क्रममा जासन बेहरिनडोर्फ़ले सर्वाधिक पाँच विकेट लिए भने मिचेल स्टार्कले पनि आफ्नो नाममा चार विकेट दर्ता गराए । बेहरिनडोर्फ़ले १० ओभरमा ४४ रन तथा स्टार्कले ८.४ ओभरमा एक मेडन ओभर सहित ४३ रन खर्चिए ।

बेहरिनडोर्फ़ र स्टार्कले इंग्ल्यान्डका शुरुवाती चार ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाउँदै अस्ट्रेलियालाई उत्कृस्ट शुरुवात दिए । पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका बेन स्टोक्सले ११५ बलको सामना गर्दै आठ चौका र दुई छक्काको मद्धतमा ८९ रन बनाएर इंग्ल्यान्डको पारी सम्हाल्ने प्रयास गरेता पनि स्टार्कको शिकार भए पछि खेलमा फर्कन सकेन ।

यस अघि कप्तान आरोन फिंचले शतक प्रहार गरे सँगै खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाएर २८५ रन बनायो ।

अस्ट्रेलियाको तर्फबाट कप्तान आरोन फिन्चले सर्वाधिक १०० रन बनाए । शतक बनाए लगत्तै आउट भएका फिन्चले ११६ बलको सामना गर्दै ११ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा फिन्चको यो दोश्रो शतक हो । फिन्चले पहिलो बिकेटका लागि ५३ रन बनाएका डेविड वार्नरसँग मिलेर २२ दशमलब चार ओभरमा १२३ रन बनाउँदै अस्ट्रेलियालाई राम्रो शुरुवात दिए ।

तर मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अस्ट्रेलिया ठुलो योगफल बनाउनबाट चुक्यो । अस्ट्रेलियाका अन्य ब्याट्सम्यानहरुमा स्टिभ स्मिथ ३४ बलमा ३८ रन र उस्मान खवाजाले २३ रन बनाए भने एलेक्स कारेले पनि अविजित रहँदै २३ बलमा २८ रनको योगदान दिए ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक दुई विकेट लिए भने जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोएन अलीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।