फिन्चको शतकमा आयोजक टोली बिरुद्ध अस्ट्रेलियाको २८५ रन
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-१०

कप्तान आरोन फिंचले शतक प्रहार गरेसँगै अस्ट्रेलियाले आयोजक इंग्ल्यान्डलाई २८६ रनको लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाएर २८५ रन बनायो ।

अस्ट्रेलियाको तर्फबाट कप्तान आरोन फिन्चले सर्वाधिक १०० रन बनाए । शतक बनाए लगत्तै आउट भएका फिन्चले ११६ बलको सामना गर्दै ११ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा फिन्चको यो दोश्रो शतक हो । फिन्चले पहिलो बिकेटका लागि ५३ रन बनाएका डेविड वार्नरसँग मिलेर २२ दशमलब चार ओभरमा १२३ रन बनाउँदै अस्ट्रेलियालाई राम्रो शुरुवात दिए ।

तर मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अस्ट्रेलिया ठुलो योगफल बनाउनबाट चुक्यो । अस्ट्रेलियाका अन्य ब्याट्सम्यानहरुमा स्टिभ स्मिथ ३४ बलमा ३८ रन र उस्मान खवाजाले २३ रन बनाए भने एलेक्स कारेले पनि अविजित रहँदै २३ बलमा २८ रनको योगदान दिए ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक दुई विकेट लिए भने जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोएन अलीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

अंक तालिकामा अस्ट्रेलिया दोश्रो स्थानमा छ भने आयोजक इंग्ल्यान्ड चौथों स्थानमा रहेको छ । समान ६-६ खेल खेलेका अस्ट्रेलिया र इंग्ल्यान्डले क्रमसः पाँच र चार खेल जीतेका छन् भने एक र दुई खेलमा हारको सामना गरेका छन् ।