दक्षिण अफ्रिकाले पहिलो जीत निकाल्दा अफगानिस्तानको लगातार चौथों हार
क्रीकेटिङ्ग नेपाल     २०७६-०३-०१

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो जीत दर्ता गर्न सफल भएको छ भने अफगानिस्तानले खराब प्रदर्शन जारी राखेको छ । आफ्नो पहिलो जीत दर्ता गराउने क्रममा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौं विकेटले पराजित गर्यो ।

पाँच खेल खेलेको दक्षिण अफ्रिकाको यो पहिलो जीत हो । दक्षिण अफ्रिकाले यस अघि खेलेका चार खेल मध्य तीनमा हारको सामना गरेको थियो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो । चार खेल खेलेको अफगानिस्तानको भने यो लगातार चौथों हार हो ।

जीतका लागि १२६ रनको झिनो लक्ष्य लिएर ब्याटिंगमा ओर्लिएको दक्षिण अफ्रिकाले २८ दशमलब चार ओभरमा एक विकेटको नोक्सानीमा जीत आत्मसाथ गर्यो ।

दक्षिण अफ्रिकाको जीतमा विकेट किपर तथा ओपनर कुइन्टन डि ककले सर्वाधिक ६८ रन बनाए । ७२ बलको सामना गरेका उनले आठ चौका प्रहार गरे भने पहिलो विकेटका लागि हसिम अमलासँग मिलेर २२.५ ओभरमा १०४ रन जोडे । अविजित रहेका अमलाले भने ८१ बल खेल्दै चार चौकाको मद्धतमा ४० रन बनाए । त्यस्तै एन्डिले फेहलुक्वायोले पनि अविजित रहँदै १७ बलमा १७ रन प्रहार गरे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तान ३४ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १२५ रनमा समेटियो ।

अफगानिस्तानको तर्फबाट नवौं नम्बरमा ब्याटिंग गर्न आएका रशिद खानले २५ बलमा छ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए भने ओपनरद्वय हज्रतुल्लाह ज़जाईले २३ बलमा २२ रन र नुर अलि ज़द्रानले ३२ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

शुरुवात राम्रो गरेको अफगानिस्तानको मध्यक्रम धोस्त हुँदा सानो योगफलमा समेटिन पुग्यो ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा इमरान ताहिरले सर्वाधिक चार विकेट लिए भने क्रिस मोरिसले तीन तथा एन्डिले फेहलुक्वायोले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । ताहिरले सात ओभरमा २९ रन खर्चिए भने मोरिसले ६.१ ओभरमा दुई मेडन सहित १३ रन दिए । त्यस्तै आठ ओभर बलिंग गरेका फेहलुक्वायोले मात्र १८ रन खर्चिए भने एक मेडन ओभर राख्न सफल रहे ।