यु१९ एसिया कप छनोटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल म्यानमारसँग
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२८

यु१९ एसिया कपको छनोटको रुपमा रहेको यु१९ इसटर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले म्यानमार यु१९ को सामना गर्ने छ ।

आगामी जुलाई दुईबाट नौं तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसँगै सिंगापुर, म्यानमार र चीन समुह बी मा रहेका छन् । समुह ए मा भने आयोजक मलेसियासँगै भुटान, हंगकंग र थाईल्याण्ड रहेका छन् ।

आफ्नो पहिलो खेलमा नेपालले जुलाई दुईमा म्यानमारको सामना गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोश्रो खेल सिंगापुरसँग जुलाई पाँच तथा समुह चरणको तेश्रो तथा अन्तिम खेल जुलाई छमा चीनसँग खेल्ने छ ।

समुह चरणमा पहिलो दोश्रो हुने टोलीले सेमीफाइनलमा स्थान बनाउने छन् भने फाइनलको बिजेताले आगामी अगस्ट २८ बाट सेप्टेम्बर आठ तारिख सम्म श्रीलंकामा आयोजना हुने यु१९ एसिया कप खेल्ने छ । वेस्टर्न रिजनबाट भने युएई र कुवेतले स्थान सुरक्षित गरिसकेका छन् ।