भारतीय समर्थकलाई दुखद खबर, शिखर धवन दुई हफ्ता मैदान बाहिर रहने
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२८

भारतीय टोलीका ओपनर शिखर धवन दुई हफ्ता मैदान बाहिर रहने भएका छन् । देब्रे हातको बुढी औंला भाँचिए पछि धवन तीन दुई हफ्ताका लागि मैदान बाहिर भएका हुन् ।विश्वकप अन्तर्गत अस्ट्रेलियासँगको भारतको दोश्रो खेलका क्रममा ब्याटिंग गर्दा उनको औंलामा बलले लागेको थियो । औंलामा लागे पछि भारतीय टोलीका फिजियो आएर उनको औंलाको उपचार गरेका थिए भने धवनले त्यस पछि पनि ब्याटिंगलाई निरन्तरता दिएका थिए ।

घाइते भएका धवनले आफ्नो करियरको १७औं तथा विश्वकपको तेश्रो शतक प्रहार गरे । खेलमा म्यान अफ द म्याच घोषित धवनले ११७ रन बनाएका थिए ।

हिजो हस्पिटलमा पुगेर एक्सरे गराएका थिए । एक्सरेमा उनको औंला भाँचिएको देखाएको हो । औंला भाँचिए पछि उनले करिब दुई हफ्ता बिश्राम गर्न पर्ने भएको छ । धवनले अब कम्तिमा पनि न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेस्ट इण्डिज र इंग्ल्यान्डसँगको खेल गुमाउने भएका छन् ।

भारतले अब धवनको अनुपस्थितीमा ओपनरमा केएल राहुललाई तथा मध्यक्रममा दिनेश कार्तिक अथवा विजय शंकरलाई खेलाउने सम्भावना छ । धवनको औंला समयमा ठिक हुन सकेन भने उनले विश्वकप नै पनि गुमाउन पर्ने हुनसक्छ ।