युवराज सिँहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२७

भारतलाई सन् २०११ को विश्वकप दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका ब्याटिङ्ग अलराउण्डर युवराज सिँहले सन्यासको घोषणा गरेका छन् ।

युवराजले सोमबार एक पत्रकार सम्मेलनमा आफूले सन्यास लिएको घोषणा गरेका हुन् । ३७ बर्षिय युवराजले भारतलाई दोश्रो पटक विश्वकप जिताउदा उनी प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए । उनले २०११ को विश्वकपमा चार अद्र्धशतक प्रहार गर्नुका साथै १५ विकेट पनि लिएका थिए ।

युवराजले भारतका लागि ४० टेस्ट, ३ सय ४ एकदिवसीय अन्तर्राष्ट्रिय र ५८ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए । यस क्रममा उनले आफूलाई आफ्नो युगको उत्कृष्ट अलराउण्डरको रुपमा स्थापित गरेका थिए ।

विश्वकप लगत्तै उनलाई क्यान्सर भएको पत्ता लागेपछि युवराज उपचारका लागि अमेरिका गएका थिए । यद्दपि उनी सफल उपचारपछि पुन खेलमा फर्कदै उदाहरणीय खेलाडीको रुपमा प्रस्तुत हुन पुगे । उनले पछिल्लो पटक भारतका लागि जुन २०१७ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

युवराजले एकदिवसीय क्रिकेटमा ३६ दशमलव ५५ को औसतमा ८७०१ रन बनाए भने एक सय ११ विकेट पनि लिएका थिए । टेस्ट टिममा लगातार स्थान बनाउन असफल रहेका उनले लामो फर्मायटको खेलमा तीन शतक र ११ अद्र्धशतक सहित १९०० रन बनाएका थिए ।

युवराज भारतले सन् २००७ को ट्वान्टी ट्वान्टी विश्वकप जित्दा इङ्गल्याण्डका स्टुवर्ट ब्रोडलाई एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै अझ आक्रमक खेलाडीको रुपमा चिनिन थालेका थिए । ट्वान्टी ट्वान्टीमा उनले ११ सय ७७ रन बनाउनुका साथै २८ विकेट लिएका थिए ।