विराट कोहलीको नाममा अर्को किर्तिमान, तोडे द्रविडको रेकर्ड
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२६

एक पछि अर्को किर्तिमान आफ्नो नाममा दर्ता गराउँदै गएका भारतिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले फेरी अर्को किर्तिमान आफ्नो नाम दर्ता गराएका छन् । उनले यस पटक भारतका पुर्व कप्तान राहुल द्रविडको किर्तिमान भंग गरेका हुन् ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप अन्तर्गत अस्ट्रेलिया बिरुद्ध जारी खेलमा ७७ बलको सामना गर्दै ८२ रन बनाएका कोहलीले एकदिवसीय खेलमा धेरै रन बनाउने खेलाडीको सुचीमा द्रविडलाई पछि पारेका हुन् ।

आजको खेल शुरु हुनु अघि धेरै रन बनाउने खेलाडीको सुचीमा १०औं स्थानमा रहेका कोहलीले द्रविडलाई पछि पार्दै नवौं नम्बरमा उक्लिएका हुन् । द्रविडले ३४४ एकदिवसीय खेल खेल्दै १०,८८९ रन बनाएका थिए । तर कोहलीले आफ्नो २२९औं खेलमा १० हजार ९४३ बनाउँदै द्रविडलाई पछि पारे ।

त्यस्तै कोहली धेरै रन बनाउने भारतिय खेलाडीको सुचीमा तेश्रो नम्बरमा उक्लिएका छन् । भारतिय खेलाडी मध्य पहिलो नम्बरमा मास्टर ब्लास्टर सचिन तेन्दुलकर छन् भने दोश्रो नम्बरमा पुर्व कप्तान सौरव गांगुली छन् । कोहली भन्दा अघि रहेका गांगुलीको ११,३६३ रन छ भने सचिनको १८,४२६ रन छ ।

त्यस्तै एकदिवसीयमा कोहली भन्दा धेरै रन बनाउने खेलाडीको सुचीमा क्रमश सौरव गांगुली, ज्याक कालिस, इन्जमाम उल हक, माहेला जयेवर्दने, सनथ जयसुर्या, रिकी पोंटिंग, कुमार संगकारा र सचिन तेन्दुलकर रहेका छन् ।