स्टोक्सको अलराउण्ड प्रदर्शनमा इङ्गल्याण्ड बिजयी
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-१७

बेन स्टोक्सले अल राउण्ड प्रदर्शन गरेपछि आयोजक इङ्गल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै बिश्वकप क्रिकेटमा बिजयी शुरुवात गरको छ ।

केनिङ्गटन ओभलमा टस हारि पहिलो ब्याटिङ्ग गरेको इङ्गल्याण्डले स्टोक्सको ठोस पारी र जेसन रोय, जो रुट र कप्तान ओइन मोर्गनको अद्र्धशतकको मद्दतमा ८ विकेट गुमाउदै ३ सय ११ रन बनायो । जोफ्रा आर्चरले तीन र लियम प्लंकेट र स्टोक्सले दुई दुई विकेट लिएपछि दक्षिण अफ्रिका ३९ दशमलव ५ ओभरमा २ सय ७ रनमै समेटियो ।

ओपनर हसिम आमलाले चोटका कारण पेभिलियन फर्केपछि दक्षिण अफ्रिकाले आफ्नो पहिलो दुई विकेट ४४ रनमै गुमाएको थियो । एडेन माक्रम र कप्तान फाफ डु प्लेसिलाई आर्चरले आउट गरेका थिए । त्यसपछि क्वेन्टिन डि कक र रासी भान डर डसेनले ८३ रनको साझेदारी गर्दै इङ्गिस सम्हाल्ने प्रयास गरेका थिए ।

७४ बलमा ६८ रन बनाएका डि कक प्लंकेटको शिकार बने । उनले ६ चौका र दुई छक्का प्रहार गरे । डि कक आउट भएसँगै लडखडाएको दक्षिण अफ्रिकी इनिङ्गसलाई त्यसपछि कसैले जोगाउन सकेन ।

आर्चरकै बलमा पेभिलियन फर्केका भान डर डसनले चार चौका र एक छक्का प्रहार गर्दै ६१ बलमा ५० रन बनाए । आर्चरले ७ ओभरमा २७ रन खर्चदै तीन विकेट लिएका थिए । जेपि डुमिनीलाई उत्कृष्ट क्याच लिदै आउट गरेका स्टोक्सले अन्तिम दुई विकेट लिएका थिए ।

यसअघि भेटेरान स्पिनर इम्रान ताहिरले ओपनर जोनी बेयरस्टोलाई शुन्यमै पेभिलियन फर्काएपनि इङ्गल्याण्डले राम्रो शुरुवात गरेको थियो । रोय र रुटले दोश्रो विकेटका लागि १ सय ६ रनको साझेदारी गरे । दुवै ब्याट्स्म्यान ७ रनको अन्तरमा पेभिलियन फर्केपनि मोर्गन र स्टोक्सले अर्को शतकीय साझेदारी गर्दै इङ्गल्याण्डलाई मजबुत स्थिति तर्फ डो¥याए ।

म्यान अफ द म्याच स्टोक्सले ७९ बलमा ९ चौका सहित ८९ रन बनाए । मोर्गनले ७३ बलमा ५७ रन बनाए । उनले चार चौका र तीन छक्का प्रहार गरे । ८ चौका प्रहार गरेका रोयले ५३ बलमा ५४ रन बनाए । यस्तै रुटले ५९ बलमा पाँच चौका प्रहार गर्दै ५१ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुँगी एनगिदिले तीन तथा ताहिर र कागिसो रबाडाले दुई–दुई विकेट हात पारे ।