डब्लुसिएलको ड्राफ्ट आज
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-३१

क्विन्स इभेन्ट्स प्रालीको आयोजनामा हुने वोमेन च्याम्पियन लिग (डव्लुसिएल) को लागि आज ड्राफ्ट हुँदैछ । नेपालमा पहिलो पटक ड्राफ्ट मार्फत खेलाडी छनोट गर्न लागिएको हो । यस अघि आयोजना भएका विभिन्न फ्रेनचाईज लिगहरुमा अक्सन मार्फत खेलाडी छानिने गरिएता पनि डब्लुसिएलमा भने ड्राफ्ट मार्फत खेलाडी छनोट गर्न लागेको हो ।

आयोजक क्विन्सले डब्लुसिएलका लागि १०७ जनाले आफ्नो नाम दर्ता गराएका जनाएको थियो । प्रत्येक टोलीले आज ड्राफ्ट मार्फत ११ जना खेलाडी छनोट गर्नेछन् ।

आयोजकले खेलाडी डायमण्ड, सफायर, रुबिज र वाइल्ड कार्ड इन्ट्री गरी चार श्रेणीमा विभाजन गरेको थियो । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् । यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन् । वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्ने छन् ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई-दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ । दर्ता जेष्ठ १९ गतेबाट शुरु भएको खेलाडी दर्ता बैशाख २५ मा सकिएको हो ।

आयोजकले यस अघि नै प्रतियोगिताको नयाँ मिति पनि सार्वजनिक गरिएको थियो । शुरुमा जेष्ठ तीनबाट ११ गते सम्म आयोजना हुने भनिएको प्रतियोगिता असोज तीनबाट १२ गते सम्म सन्चालन हुने पनि आयोजकले जनाएका छन् ।