मुम्बईलाई किर्तिमानी चौथों पटक आईपिएलको उपाधि, रोमान्चक खेलमा चेन्नाई एक रनले पराजित
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-२९

१२औं संस्करणको इन्डियन प्रिमिएर लिग (आईपिएल) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । निकै नै रोमान्चक फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई एक रनको झिनो अन्तरले पराजित गर्दै मुम्बईले किर्तिमानी चौथों पटक आईपिएलको उपाधि माथि कब्जा जमाएको हो । मुम्बईले पछिल्लो पटक सन् २०१७ मा पनि आईपिएलको उपाधि चुमेको थियो भने चेन्नाईले अघिल्लो संस्करण माथी कब्जा जमाएको थियो ।

जीतका लागि १५० रनको मध्यम लक्ष्य लिएर ब्याटिंग गर्न आएको चेन्नाईले २० ओभरमा सात विकेट गुमाएर मात्र १४८ रन बनाउन सक्यो ।

चेन्नाईलाई जीतका लागि अन्तिम ओभरमा सात रन आवस्यक रहेको अवस्थामा बलिंग गर्न आएका लासिथ मालिंगाले मात्र पाँच रन खर्चिए भने अन्तिम बलमा विकेट निकाल्दै मुम्बईलाई जीत दिलाए ।

चेन्नाईको तर्फबाट ओपनर शेन वाटसनले सर्वाधिक ८० रन बनाए भने अन्य ब्याट्सम्यानले उनलाई राम्रो साथ दिन नसक्दा झिनो हारको सामना गर्न बाध्य भयो । अन्तिम दुई बल बाँकी रहँदा रन आउट भएका उनले ५९ बलको सामना गर्दै आठ चौका र चार चक्का प्रहार गरे । सन् २०१८ को संस्करणमा सनराईजर्स हैदराबादलाई फाइनलमा आठ विकेटले पराजित गर्दै आईपिएलको उपाधि चुम्दा वाटसनले ५७ बलमा अविजित रहँदै ११७ रन प्रहार गरेका थिए ।

मुम्बईका जसप्रित बुम्राले सर्वाधिक दुई विकेट लिए भने राहुल चाहार र कुर्नाल पण्डया र मालिंगले एक एक विकेट हात पारे ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाउन सक्यो ।

मुम्बईको तर्फबाट कैरन पोलार्डले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । २५ बलको सामना गरेका उनले समान ३-३ चौका र छक्का प्रहार गरे । पोलार्ड बाहेक मुम्बईका अन्य ब्याट्सम्यानमा ओपनर तथा विकेट किपर क्विन्टन डि कक २९, कप्तान रोहित शर्मा र सुर्य कुमार यादव समान १५-१५, इशान किशान २३ तथा हार्दिक पाण्डया १६ रन बनाएर आउट भए ।

मुम्बईलाई मध्यम स्कोरमा रोक्ने क्रममा चेन्नाईका दिपक चाहारले सर्वाधिक तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

पहिलो क्वालिफायर्समा चेन्नाईलाई छ विकेटले पराजित गर्दै मुम्बाई फाइनलमा प्रवेस गरेको हो भने चेन्नाई दोश्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्सलाई छ विकेटले नै पाखा लगाउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।