कालम म्याकलेओडको शतकमा स्कटल्यान्डले अफगानिस्तानलाई दियो ३२६ रनको विशाल लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-२७

कालम म्याकलेओडले शतक तथा कप्तान कायल कोएत्ज़रले अर्धशतक प्रहार गरे पछि घरेलु टोली स्कटल्यान्डले अफगानिस्तानलाई दोश्रो एकदिवसीय खेलमा ३२६ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको स्कटल्यान्डले ५० ओभरमा सात विकेट गुमाएर ३२५ रनको विशाल योगफल तयार पार्यो ।

स्कटल्यान्डको लागि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका कालम म्याकलेओडले सर्वाधिक १०० रन बनाएर आउट भए । हमिद हसनको शिकार हुनु अघि उनले ८९ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

स्कटल्यान्डका विकेट किपर तथा ओपनर म्याथ्यु क्रस र कप्तान कायल कोएत्ज़रले पहिलो विकेटका लागि १८ दशमलब दुई ओभरमा ७६ रन जोड्दै उत्कृस्ट शुरुवात दिए । क्रस ३२ रन बनाएर आउट भए पछि कप्तान कोएत्ज़रले दोश्रो विकेटका लागि म्याकलेओडसँग मिलेर ७६ रनको नै शाझेदारी गरे । उनी ७९ रन बनाएर आउट भए ।

अफगानिस्तानका गुलाब्दीन नैबले सर्वाधिक तीन विकेट हात पारे भने अफ्ताब आलम र हमिद हसनले पनि आफ्नो नाममा समान दुई-दुई विकेट दर्ता गराए ।

पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्ध भएको थियो ।