सामीको उत्कृष्ट प्रदर्शन, भारतले न्युजिल्याण्डलाई धुलो चटायो
क्रीकेटिङ्ग नेपाल     २०७५-१०-०९

पेस बलर मोहम्मद सामी, चाइना म्यान कुलदिप यादब र लेग स्पिनलर युज्भेन्द्र चाहालले चम्किएपछि भारतले पहिलो एकदिवसीयमा न्युजिल्याण्डलाई डकवर्थ लेविस नियम अन्तर्गत ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
नेपियरमा हात पारेको जितसंगै पाँच म्याचको श्रंखलामा भारतले १–० को अग्रता लिएको छ । सन् २००९ यता भारतले दुई देशबीचको एकदिवसीय श्रंखलामा पहिलो पटक पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको हो । 
न्युजिल्याण्डले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय लिएपछि त्यसलाई गलत साबित गर्दै भारतले ३८ ओभरमा १ सय ५७ रनमै समेट्यो । जवाफि ब्याटिङ्ग गर्ने क्रममा भारतले ओपनर शिखर धवनको आकर्षक अद्र्धशतकसंगै ३४ दशमलव ५ ओभरमै जित हात पा¥यो । 
बर्षाले खेल केहीबेर बाधक बनेपछि भारतले ४९ ओभरमा १ सय ५६ रनको लक्ष्य पाएको थियो । अर्का ओपनर रोहित शर्मा (११) लाई ४१ रनमा गुमाएपछि धवनले कप्तान बिराट कोहलीसंग दोश्रो विकेटका लागि ९१ रन जोड्दै टिमलाई सहज जित दिलाएका थिए । 
तीन चौका प्रहार गरेका कोहलीले ५९ बलमा ४५ रन बनाए । उनी लकि फर्गुसनद्वारा आउट भएका थिए । हालै सम्पन्न अष्ट्रेलियाबिरुद्धको श्रंखलामा खासै नचलेका धवनले १ सय ३ बलको सामना गर्दै ७५ रन बनाए । उनले ६ चौका प्रहार गरे । अम्बाती रायडु १३ रनमा अविजित रहे । 
यसअघि मोहम्मद सामीले उत्कृष्ट सिम बलिङ्गको नमुना प्रस्तुत गर्दै ओपनरद्वय मार्टिन गप्टिल र कोलिन मुन्रोलाई १८ रनभित्रै पेभिलियन फर्काएका थिए । कप्तान केन विलियम्सनले ६४ रन बनाएपनि न्युजिल्याण्डले अर्को एण्डबाट लगातार विकेट गुमाउन पुग्यो । 
प्रभावशाली बलिङ्ग गरेका युजभेन्द्र चाहालले रोस टेलर र टम लाथमको महत्वपूर्ण विकेट लिए भने यादवले विलियम्सनसँगै तल्लो क्रमका अरु तीन विकेट लिएका थिए । ८१ बलको सामना गरेका विलियम्सनले सात चौका प्रहार गरेका थिए । 
यादवले १० ओभरमा ३९ रन खर्चिएका थिए भने चाहलले ४३ रन दिए । म्यान अफ द म्याच सामीले ६ ओभरमा १९ रन खर्चदै तीन विकेट हात पारे । न्युजिल्याण्डका लागि टेलरले ४१ बलमा २४ रन बनाए । उनले तीन चौका प्रहार गरे ।