ज्योति पाण्डेको अर्धशतकमा एपिएफको लगातार दोश्रो जित
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-२२

नेपाल एपिएफ क्लबले ज्योति पाण्डेको आकर्षक अर्धशतकको मद्दतमा सुदुर पश्चिम प्रदेशलाई ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै मेयर कप महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोश्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा ज्योतिले प्रतियोगिताको पहिलो अर्धशतक बनाउनुका साथै सरिता मगरले राम्रो फिनिसिङ दिएपछि पहिलो ब्याटिङ्ग गरेको एपिएफले २ विकेटका क्षतिमा १ सय २७ रन बनायो ।

सोमु बिस्टले शुरुवाती दुई र बिनु बुढामगरले तीन विकेट लिएपछि सुदुर पश्चिम १९ ओभरमा ९० रनमै अल आउट भयो । सुनिता लुहारले सुदुरपश्चिमका लागि सर्वाधिक २३ रन बनाइन् । उनले २२ बलमा तीन चौका प्रहार गरिन् ।

डली भट्टले १८ बलमा १६ रन बनाउदा दुई चौका प्रहार गरिन् । कप्तान सिता राना मगरले पनि दुई विकेट हात पारिन् ।

शनिबारको पहिलो खेलमा प्रधानमन्त्री कप च्याम्पियन प्रदेश १ लाई पराजित गरेको एपिएफले एक पटक फेरि सशक्त शुरुवात गर्यो । ज्योति र सीता (१६) ले पहिलो विकेटका लागि ५६ रन जोडेका थिए । त्यसपछि ज्योति र सरिताले अर्को ५२ रन जोडेपछि एपिएफले चुनौतिपूर्ण योगफल खडा गर्यो ।

ज्योतिले ५० बलमा सात चौकाको मद्दतमा ५९ रन प्रहार गरिन् । सरिताले ४२ बलमा तीन चौकाको मद्दतमा ३५ रन बनाइन् ।