ट्वान्टी ट्वान्टी शृंखलामा न्युजिल्यान्डको क्लिन स्विप
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१९

घरेलु टोली न्युजिल्यान्डले बंगलादेश विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि क्लिन स्विप गरेको छ ।

वर्षाले प्रभावित तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा ६५ रनको फराकिलो जित हात पार्दा न्युजिल्यान्डले शृंखलामा ह्वाइटवास गरेको हो । पहिलो ट्वान्टी ट्वान्टी खेलमा ६६ रनको फराकिलो जित दर्ता गराएको न्युजिल्यान्डले बंगलादेशलाई दोश्रो ट्वान्टी ट्वान्टी खेलमा २८ रनले पराजित गरेको थियो ।

वर्षाका कारण १० ओभरमा छोट्टाइएको खेलमा न्युजिल्यान्डले चार विकेटको नोक्सानीमा १४१ रन बनायो भने जवाफी ब्याटिङ गरेको बंगलादेशले नौं दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डको लागि ओपनर फिन एलेनले सर्वाधिक ७१ रन बनाए । २९ बलको सामना गरेका उनले १० चौका र तीन छक्का प्रहार गरे । खेलको म्यान अफ द म्याच घोषित एलेनले आफ्नो अर्धशतक मात्र १८ बलमा पुरा गरेका थिए ।

एलेनले पहिलो विकेटका लागि १९ बलमा ४४ रन बनाएका मार्टिन गुप्टिलसँग मिलेर पाँच दशमलब चार ओभरमा ८५ रन जोडेका थिए । उनी अन्तिम ओभरको चौथों बलमा तास्किन अहमदको शिकार भए ।

विशाल लक्ष्य सहित क्रिजमा आएको बंगलादेशलाई सस्तोमा रोक्ने क्रममा टड एस्टलले दुई ओभरमा १३ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने टिम साउथीले पनि १५ रन दिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए ।

बंगलादेशका ओपनर मोहम्मद नैमले सर्वाधिक १९ रनको पारी खेले । त्यस बाहेक मोसादेक होसेनले १३ तथा अर्का ओपनर सौम्य सरकारले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस अघि न्युजिल्यान्डले बंगलादेश विरुद्धको तीन खेलको एकदिवसीय शृंखला पनि ह्वाइटवास गरेको थियो ।