मार्श आईपीएल नखेल्ने, उनको स्थानमा रोय अनुबन्धित
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१९

अष्ट्रेलियाका अलराउण्डर मिचेल मार्शले आगामी अप्रिल नौं तारिकबाट सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै आईपीएलबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

मार्शले पछिल्लो पटक अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको ट्वान्टी ट्वान्टी शृंखला खेलेका थिए । उनले केहि समय अघि मात्र भारतीय क्रिकेट बोर्ड र आफ्नो फ्रेन्चाइज हैदराबादलाई आफ्नो नाम फिर्ता लिने जानकारी दिएका थिए । उनले व्यक्तिगत कारणले आईपीएल खेल्न नसक्ने जनाए पनि सात दिनको क्वारेन्टिन तथा करिब दुई महिना बायो-बबलमा बस्न पर्ने भएकाले आफ्नो नाम फिर्ता लिएको बुझिएको छ ।

हैदराबादले मार्शलाई २०२० को अक्सनमा उनको आधार मुल्य दुई करोड भारतीय रुपैयाँमा भित्राएको थियो । तर हैदराबादको पहिलो खेलमा नै चौथों बल गर्ने क्रममा, बेंगलोर विरुद्ध आफ्नो गोलीगाँठोमा चोट लाग्न पुग्दा पुरै सिजन गुमाउन बाध्य भएका थिए । गत सिजन हैदराबादले उनको स्थानमा जेसन होल्डरलाई आफ्नो टोलीमा अनुबन्ध गरेको थियो ।

यस सिजनको लागि मार्शले आफ्नो नाम फिर्ता लिए पनि सनराइजर्स हैदराबादले जेसन रोयलाई, उनको आधार मुल्य दुई करोड भारतीय रुपैयाँमा आफ्नो टोलीमा अनुबन्ध गरेको छ ।

सन् २०१७ मा गुजरात लायन्सबाट आईपीएलमा डेब्यु गरेका रोयलाई सन् २०१८ को सिजनमा दिल्लीले किनेको थियो । तर सन् २०२० को सिजन अघि उनले आईपीएल अघि आफ्नो नाम फिर्ता लिए पछि दिल्लीले यस सिजनको लागि भएको अक्सन अघि उनलाई फुकुवा गरेको थियो ।

३० बर्षिय रोयले यस अघिका आईपीएलमा आठ खेल मात्र खेलेका छन् । आठ खेलमा एक अर्धशतक मात्र बनाउन सकेका रोयले २९ दशमलब ८३ को औषतमा कुल १७९ रन मात्र आफ्नो नाममा लेखाउन सफल भएका थिए ।