सात रनको सनसनीपूर्ण जित निकाल्दा भारतलाई एकदिवसीय शृंखला
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१५

साम कुर्रानले उत्कृस्ट ब्याटि गर्दै इंग्ल्यान्डलाई जित नजिक पुर्याए पनि घरेलु टोली भारतले तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा सात रनको सनसनीपूर्ण जित निकाल्दै इंग्ल्यान्ड विरुद्धको तीन एकदिवसीय खेलको शृंखला माथि कब्जा जमाउन सफल भएको छ ।

आजको खेलमा जित निकाल्दा भारतले शृंखला २-१ ले आफ्नो पोल्टामा पार्न सफल भएको हो । पहिलो खेल भारतले ६६ रनले जितको थियो भने दोश्रो खेलमा इंग्ल्यान्डले छ विकेटको रोमान्चक जित आत्मसाथ गरेको थियो । भारतले यससँगै टेस्ट, ट्वान्टी ट्वान्टी तथा एकदिवसीय शृंखला तीन वटा नै कब्जा गर्न पनि सफल भएको छ । भारतले टेस्ट शृंखला ३-१ ले तथा ट्वान्टी ट्वान्टी शृंखला ३-२ ले जितेको थियो ।

३३० रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा ३२२ रन मात्र बनाउन सक्यो ।

आठौँ नम्बरमा ब्याटिङ गर्न आएका साम कुर्रानले अविजित रहँदै ९५ रन बनाएर जित नजिक सम्म पुर्याए पनि अन्य ब्याट्सम्यानको उलेख्य साथ नपाउँदा इंग्ल्यान्ड शृंखला गुमाउन बाध्य भयो । शतक बनाउनबाट चुकेका उनले ८३ बल खेल्दै नौं चौका र तीन छक्का प्रहार गरे ।

इंग्ल्यान्डको लागि कुर्रान बाहेक डाविड मालानले ५० बलमा समान ५० रन बनाए भने लियाम लिभिङस्टोनले ३६, बेन स्टोक्सले ३५, मोएन अलीले २९ तथा आदिल रशिदले १९ रनको पारी खेले भने मार्क उडले पनि १४ रनको योगदान दिए ।

भारतको तर्फबाट महँगो साबित भए पनि शार्दुल ठाकुरले १० ओभरमा ६७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने किफायती बलिङ गरेका भुवनेश्वर कुमारले १० ओभरमा ४२ रन दिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले दुई ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ३२९ रनको विशाल स्कोर बनायो ।

भारतको तर्फबाट विकेट किपर रिशब पन्तले ६२ बलको समान गर्दै पाँच चौका र चार छक्काको मद्धतमा सर्वाधिक ७८ रन बनाए भने ओपनर ५६ बल खेलेका शिखर धवन ६७ रनको पारी खेले ।

त्यस्तै आक्रमक पारी खेलेका हार्दिक पान्ड्याले ४४ बलको सामना गर्दै पाँच चौका र चार छक्का सहित ६४ रन बनाएर पेभेलियन फर्किए । भारतका ओपनर रोहित शर्मा र शार्दुल ठाकुर क्रमसः ३७ र ३० रनमा आउट हुँदा कप्तान बिराट कोहली र केएल राहुलले समान ७-७ रन भन्दा बनाउन सकेनन् ।

ओपनरद्वय रोहित र धवनले पहिलो विकेटका लागि १४ दशमलब चार ओभरमा १०३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । तर लगातार रुपमा शर्मा, धवन, कप्तान कोहली र राहुल पेभेलियन फर्कदा भारत १५७ रनमा चार विकेटको अवस्थामा खुम्चिन पुग्यो । त्यस पछि पन्त र पान्ड्याले पाँचौं विकेटका लागि ७३ बलमा ९९ रन जोड्दै भारतलाई विशाल योगफल तर्फ लगे ।

इंग्ल्यान्डका मार्क उडले सर्वाधिक तीन विकेट हात पारे भने आदिल रशिदले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराउन सफल भए ।