एकदिवसीय शृंखला माथि कब्जा जमाउन इंग्ल्यान्डलाई ३३० रनको कठिन लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१५

शिखर धवन, रिशब पन्त र हार्दिक पान्ड्याले अर्धशतक प्रहार गरे पछि घरेलु टोली भारतले निर्णायक एकदिवसीय खेल जित्नका लागि इंग्ल्यान्डलाई ३३० रनको विशाल लक्ष्य दिएको छ ।

तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले दुई ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ३२९ रनको विशाल स्कोर बनायो ।

भारतको तर्फबाट विकेट किपर रिशब पन्तले ६२ बलको समान गर्दै पाँच चौका र चार छक्काको मद्धतमा सर्वाधिक ७८ रन बनाए भने ओपनर ५६ बल खेलेका शिखर धवन ६७ रनको पारी खेले ।

त्यस्तै आक्रमक पारी खेलेका हार्दिक पान्ड्याले ४४ बलको सामना गर्दै पाँच चौका र चार छक्का सहित ६४ रन बनाएर पेभेलियन फर्किए । भारतका ओपनर रोहित शर्मा र शार्दुल ठाकुर क्रमसः ३७ र ३० रनमा आउट हुँदा कप्तान बिराट कोहली र केएल राहुलले समान ७-७ रन भन्दा बनाउन सकेनन् ।

ओपनरद्वय रोहित र धवनले पहिलो विकेटका लागि १४ दशमलब चार ओभरमा १०३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । तर लगातार रुपमा शर्मा, धवन, कप्तान कोहली र राहुल पेभेलियन फर्कदा भारत १५७ रनमा चार विकेटको अवस्थामा खुम्चिन पुग्यो । त्यस पछि पन्त र पान्ड्याले पाँचौं विकेटका लागि ७३ बलमा ९९ रन जोड्दै भारतलाई विशाल योगफल तर्फ लगे ।

इंग्ल्यान्डका मार्क उडले सर्वाधिक तीन विकेट हात पारे भने आदिल रशिदले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराउन सफल भए ।

भारत र इंग्ल्यान्ड बीचको तीन खेलको शृंखलामा १-१ को बराबरीमा रहेको छ । आजको खेलमा जित हात पार्ने टोलीले शृंखला माथि कब्जा जमाउने छ । पहिलो खेल भारतले ६६ रनले जितको थियो भने दोश्रो खेलमा इंग्ल्यान्डले छ विकेटको रोमान्चक जित आत्मसाथ गरेको थियो ।