एबि डि भिलियर्स यो सिजनको एभरेष्ट प्रिमियर लिग खेल्ने
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१५

दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा मिस्टर ३६० उपनामले चर्चित क्रिकेटर एबी डि भिलियर्स आगामी संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । आयोजक एभरेस्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले यसको पुष्टि गरेका छन् ।

क्रिकेटिङनेपालसँग कुरा गर्दै आमिरले एबीडी नेपाल आउने पक्का पक्की नै भएको जनाए । ' हामीले गत संस्करणको ईपीएलमा पनि डिभिलियर्सलाई खेलाउन प्रयास गरेको भए पनि कुरा मिलेको थिएन । यस पटक धेरै हद सम्म कुरा मिलेको छ । आशा छ यस पटकको ईपीएलमा हामीले डिभिलियर्सको ब्याटबाट चौका र छक्काको बर्षा देख्ने छौं ।'

कुन टोलीमा आउने छन् डिभिलियर्स भन्ने प्रश्नमा आमिरले भने, 'कुन टोलीमा आउने भन्ने पक्का पक्की केहि भएको छैन । प्रतियोगिता आउनका लागि अझै समय बाँकी रहेको छ । केहि समयमा कुल टोलीमा आउने छन् भन्नेमा थाहा हुनेछ ।'

'हाम्रो ईपीएल आयोजना गर्नुको मुख्य लक्ष्य भनेको नै नेपाली क्रिकेटको स्तर बढाउनुको साथै नेपाली क्रिकेटलाई विश्व सम्म पुर्याउनु हो । यसका लागि हामी चर्चित खेलाडीहरुलाई ईपीएल खेलाउन प्रयासरत छौं । क्रिस गेल गत सिजन नै आउने पक्का भएको थियो । यो सिजन पनि उनि आउने निश्चित नै छ । हामी अझै पनि चर्चित अनुहारलाई यस पटक टियु क्रिकेट मैदानमा उतार्न प्रयासरत रहेका छौँ ।'

तर आमिरले संकेत गर्दै ललितपुर प्याट्रियट्स डिभिलियर्सलाई आफ्नो क्लबमा आबद्ध गर्न लागिपरेको जनाए ।

यस बारेमा बुझ्दा ललितपुरका मालिक किशोर महर्जनले पनि डिभिलियर्सको लागि प्रयासरत रहेको जानकारी दिए ।

'एबी डि भिलियर्स यस्ता खेलाडी हुन् जसलाई जुन कुनै टोलीले आफ्नो टोलीमा आबद्ध गर्न चाहन्छ । सायद रु टोलीले पनि उनलाई भित्राउन अन्तरिक तयारी र छलफल गर्दै होलान् । हामी उनलाई हाम्रो टोलीमा आबद्ध गराउन सफल हुन्छौं भन्नेमा आशावादी रहेका छौं ।'

महर्जनले उनी र उनको एजेन्टसँग कुरा चलेको भए पनि ललितपुरबाट नै खेल्ने भन्ने बारेमा केहि निर्णय दिइनसकेको पनि जनाए ।