सन्दिपले इंग्ल्यान्डको भाइटलिटी ब्लास्ट खेल्ने
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१२

नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले इंग्ल्यान्डको भाइटलिटी ब्लास्ट खेल्ने भएका छन् । २० बर्षिय सन्दिपलाई वुस्टरसायर र्यापिड्सले सन् २०२१ को सिजनको लागि आफ्नो क्लबमा आबद्ध गरेको हो ।

क्लबले आफ्नो वेबसाइटमा सन्दिपलाई यस सिजनको ट्वान्टी ट्वान्टीका लागि आफ्नो क्लबमा आबद्ध गरेको जनाएको हो । प्रतियोगिता आगामी जुन नौं देखि सेप्टेम्बर १८ तारिक सम्म हुनेछ ।

क्लबले रिकी वेस्सेल्सको सुझाबमा सन्दिपलाई आफ्नो क्लबमा ब्लास्टका लागि राखेको जनाएको छ । सन्दिप र रिकीले पाकिस्तान सुपर लिग (पिएसएल) मा लाहोर कलन्दर्सबाट सँगै खेलेका थिए । क्लबले सन्दिप प्रतियोगिताको समुह चरणको सबै खेलमा उपलब्ध हुने पनि जनाएको छ ।

सन्दिपको आगमनले क्लबका मुख्य प्रशिक्षक एलेक्स गिडम्यानले पनि खुशी ब्यक्त गरेका छन् । उनले भने, 'सन्दिपले विश्वका धेरै प्रतियोगिता खेलेका छन् र फ्रेन्चाइज क्रिकेटमा धेरै अनुभब बटुलेका छन् । सन्दिप लेग स्पिनर हुन् । उनी रहस्यमयी स्पिनर पनि हुन् । हाम्रो टोलीको सन्तुलनका लागि पनि सन्दिपको आगमनले निकै फाइदा पुग्ने छ । उनलाई हाम्रो क्लबमा आबद्ध गर्न पाउँदा निकै उत्साहित छु ।'

'यो सन्दिपको इंग्ल्यान्डमा पहिलो अनुभब हो । मलाई आशा छ उनले हाम्रो क्लबको लागि राम्रो प्रदर्शन गर्ने छन् र उनी पनि यस समर आफ्नो खेलमा रमाउने छन् ।'

सन् २०१८ मा दिल्ली डेयरडेबिल्स (हालको दिल्ली क्यापिटल्स) मा पहिलो पटक विदेशी ट्वान्टी ट्वान्टी लिगमा आबद्ध भएका सन्दिपले त्यस पछि बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग जस्ता चर्चित लिग खेलिसकेका छन् भने यसै बर्ष इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड्समा पनि आबद्ध भएका छन् ।